आजबाट सुरु गरे प्रदीप र दिव्याले ‘एक्टर’को छायांकन

राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘एक्टर’को छायांकन सुरु गरिएको छ । पोखरास्थित बिन्ध्यवासिनी मन्दिरमा शुक्रबार पूजाआजा गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको पहिलो सट प्रदीप र दिव्याले क्यामेरामा पूजा गर्दै दिएका छन् । यो फिल्मको केहीसमय अगाडि हवन यज्ञसहित फिल्मको शुभ-मुहूर्त गरिएको थियो ।

निर्माता थमन कुमार भण्डारीले दिएको जानकारी अनुसार यो फिल्मको पोखरामा १० दिन छायांकन हुनेछ । त्यसपछि बाँकी छायांकन काठमाडौंमा गरिनेछ। यो चलचित्रमा अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री दिव्या रायमाझीको मूख्य भूमिका रहनेछ।

फिल्मको सह-निर्मातामा एनिस भुसाल र सार्थक केसी छन् । अदृत फिल्म्सको प्रस्तुति रहेको फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन् । फिल्ममा प्रदीपले कलाकारकै भूमिका निर्वाह गर्नेछन् ।

फिल्ममा प्रदीप र दिव्यासहित राजबल्लभ कोइराला, दिव्यदेव, आना शर्मा, सुशील सिटौला लगायतको अभिनय रहनेछ । राजबल्लभले यही फिल्मबाट करिब दश वर्षपछि कमब्याक गर्न लागेका हुन् । यो फिल्मलाई यस वर्षको तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज गर्ने तयारीमा निर्माण टिम छ ।


ताजा खबर