गरिमा शर्मा पहिलो पटक लिड हिरोइन बन्दै

नायिका गरिमा शर्मा पहिलो पटक फिल्ममा लिड हिरोइनको रूपमा प्रस्तुत हुने भएकी छन्।

टिकटकबाट उदाएर म्युजिक भिडियोमा लोकप्रियता कमाएकी उनी नयाँ फिल्म ‘जन्ते बाख्रो’ मा मुख्य भूमिकामा देखिने पक्का भएको हो। यसअघि उनले डेब्यु फिल्म ‘लण्डन टू पेरिस’ र दोस्रो फिल्म ‘ह्रस्व दीर्घ’ मा सहायक अभिनेत्रीको रूपमा काम गरेकी थिइन्।

शुक्रबार निर्माता र गरिमाबीच कागजी सम्झौता भएसँगै उनलाई फिल्ममा आधिकारिक रूपमा अनुबन्ध गरिएको हो। अडिसन प्रक्रियाबाट छनोट भएकी गरिमाको यो फिल्म करियरका लागि ठूलो उपलब्धि भएको उनले बताएकी छन्।

फिल्ममा गरिमाको जोडी अभिनेता सौगात मल्ल र आसिफ शाहसँग बाँधिनेछ। मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्देशन सिमोस सुनुवारले गर्नेछन् ।

कमेडी कथावस्तुमा आधारित हुने फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका छन् । फिल्मका निर्माता सन्तोष गौतम रहेका छन्।

फिल्मको छायांकन आगामी पुष १ गते बाट सुरु हुने तय भएको छ भने यसका लागि मंसिर २० गते देखि वर्कसप सञ्चालन गरिनेछ।

गरिमाका लागि अवसर र चुनौती

गरिमाको पहिलो फिल्म ‘लण्डन टू पेरिस’ मा अभिनय कमजोर रहेको भन्दै आलोचना भए पनि दोस्रो फिल्म ‘ह्रस्व दीर्घ’ मा उनले सुधार देखाएकी थिइन्। यसपटक मुख्य अभिनेत्रीको रूपमा प्रस्तुत हुँदै गरेकी उनले आफ्नो अभिनय क्षमतालाई प्रमाणित गर्नुपर्ने दबाब रहेको छ। यो फिल्म गरिमाका लागि अवसर र चुनौती दुवै हो।

फिल्मप्रेमीहरूले अब गरिमाको मुख्य भूमिका कस्तो रहनेछ भन्ने कुरामा चासो राखेका छन्। ‘जन्ते बाख्रो’ फिल्मलाई कस्तो प्रतिक्रिया मिल्ने हो, त्यो भने आगामी प्रदर्शनपछि मात्र थाहा हुनेछ।


ताजा खबर

No comments to show.