‘श्री बुकुरो’को औपचारिक घोषणासँगै फस्टलुक सार्वजनिक

‘श्री बुकुरो : द होम कलिङ’को औपचारिक घोषणा भएको छ । सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको सिनेमा अहिले छायांकन पूरा गरेर पोस्ट प्रोडक्सनमा रहेको छ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको यस सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायतको अभिनय रहेको छ।

मंगलबार निर्माण टिमले सार्वजनिक गरेको स्केच पोस्टरमा मुख्य कलाकारहरूसहित एउटा झुप्रो घर र मन्दिर चित्रित गरिएको छ। पोस्टरले ग्रामीण परिवेशको कथा बोकेको सन्देश दिन्छ। बुकुरोको अर्थ झुप्रो घर भन्ने हुँदा, यसले एउटा परिवारलाई केन्द्रमा राखेर कथा भन्ने प्रयास गरेको बुझ्न सकिन्छ।

सिनेमा ‘श्री बुकुरो’सँगै निर्देशक सुदीप भुपाल सिंह ७ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन्। यसअघि उनले निर्देशन गरेका ‘माला’ र ‘रुद्रप्रिया’ दुवै सिनेमाले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएका थिए। पारिवारिक कथामा निर्माण गरिएको यो सिनेमाले पनि दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्देशक सिंहले व्यक्त गरेका छन्।

निर्देशक सिंहकै लेखनमा बनेको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन्। सिनेमाको छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका हुन् भने गीतसंगीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको योगदान छ। मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरी ५७ दिनसम्म छायांकन गरिएको यस सिनेमाले नेपाली ग्रामीण जीवनशैली र पारिवारिक सम्बन्धलाई पर्दामा उतार्ने बताइएको छ।

सिनेमाको यही हप्तामा टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिने निर्देशक सिंहले बताएका छन्।


ताजा खबर

No comments to show.