नेपाली फिल्म ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरी छायांकन सुरु भएको यो फिल्म ३६ दिनमा खिचेर इन्डक्ल्याप गरिएको हो । पोखरा आसपासमा खिचिएको यस फिल्मको दृश्यदेखि गीतसम्मको छायांकन पूरा भएको निर्माता अञ्जान केसीले बताए ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यो फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका छन्, जुन उनको डेब्यु निर्देशकीय काम हो । फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । यस्तै, विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौलालगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मको कथा निर्माता अञ्जान केसीले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको छ भने सुलक्षण भारतीले स्क्रिप्ट डक्टरको भूमिका निर्वाह गरेका छन् । सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन् भने सम्भू थापा कार्यकारी निर्माता हुन् । सिनेमाटोग्राफी सरद महतोले गरेका छन् । विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रचना, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत तथा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर फिल्ममा समेटिएको छ ।
मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको कोरियोग्राफी, विराज खड्काको भीएफएक्स निर्देशन र आदेश सुब्बा (गुडरेज पिक्चर्स) को भीएफएक्स प्रोडक्सन रहेको छ । बारत लिम्बू मुख्य सहायक निर्देशक, प्रतीक चौधरी आर्ट डिरेक्टर, मिलन मानन्धर प्रोडक्सन म्यानेजर, कमल मिश्र कस्ट्युम डिजाइनर, तुलसा लिम्बू मेकअप आर्टिस्ट र युवाहाङ राई पोस्टर फोटोग्राफर छन्।पोस्ट-प्रोडक्सनको जिम्मा चलचित्र चौतारीले लिनेछ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।