काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा शुक्रबार (साउन १६ गते) एकदमै चहलपहलपूर्ण रह्यो । एउटै दिनमा आधा दर्जन सिने गतिविधिहरू सार्वजनिक हुँदा दर्शक र कलाकारबीच उत्सुकता थपिएको छ । नयाँ पोस्टर रिलिजदेखि लिएर निर्माण घोषणा र प्रदर्शन मिति तय भएका चलचित्रहरूको संक्षिप्त विवरण यसप्रकार छन् :
१. ‘हरिबहादुरको जुत्ता’को पोस्टर सार्वजनिक
निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको बहुप्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’को पहिलो पोस्टर शुक्रबार सार्वजनिक गरिएको छ । सामाजिक व्यङ्ग्य र पात्रको जीवनको विषम परिस्थितिमा केन्द्रित भनिएको यो सिनेमाले दर्शकलाई गहिरो सन्देश दिन सक्ने अपेक्षा गरिएको छ ।
२. मुस्कान ढकालको निर्देशनमा ‘रत्यौली’ निर्माण घोषणा
नेपाली परम्परा, लोक संस्कार र संस्कृति झल्काउने चलचित्र ‘रत्यौली’को औपचारिक घोषणा गरिएको छ । निर्देशक मुस्कान ढकालको निर्देशनमा बन्न लागेको यो सिनेमा नेपाली विवाह संस्कारमा महिलाहरूले मात्र गाउने परम्परागत रत्यौली गीतमा आधारित छ । फिल्मले सांस्कृतिक चेतना र मौलिकपनालाई सिनेमामा उतार्ने दाबी गरिएको छ ।
३. ‘परालको आगो’मा सौगात मल्लको प्रवेश
गुरुप्रसाद मैनालीको चर्चित कथामा आधारित चलचित्र ‘परालको आगो’मा अभिनेता सौगात मल्लको प्रवेश भएको छ । उनी चलचित्रमा जुठे दमाईको भूमिकामा देखिनेछन् । यसअघि सो भूमिकाका लागि अभिनेता जितु नेपाल अनुबन्धित थिए । तर व्यस्तताको कारण फिल्म छाडेपछि निर्माण पक्षले सौगातलाई विकल्पका रूपमा अनुबन्ध गरेको हो ।
४. ‘माइतीघर’को पहिलो झलक बाहिरियो
निर्देशक मिलन तामाङको निर्देशनमा बनेको चलचित्र ‘माइतीघर’को पहिलो झलक सार्वजनिक गरिएको छ । पारिवारिक र सामाजिक पृष्ठभूमिमा आधारित भनिएको यो चलचित्र असोज १३ गते (दशैंको फूलपाती) देखि प्रदर्शनमा आउने तयारीमा छ । सार्वजनिक झलकमा मुख्य पात्रहरूको भूमिकालाई प्रस्तुत गरिएको छ ।
५. चलचित्र ‘मिरमिरे’ माघ १ मा प्रदर्शन हुने
निर्देशक यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’को प्रदर्शन मिति तय भएको छ । निर्माणपक्षका अनुसार फिल्म आगामी माघ १ गते देशभर प्रदर्शनमा आउनेछ । फिल्मको विषयवस्तु र कलाकारको टिमबारे भने थप जानकारी आउन बाँकी छ ।
६. ‘जारी २’ संविधान दिवसमा रिलिज हुने
‘जारी’को सफलतापछि निर्माणमा आएको सिक्वेल चलचित्र ‘जारी २’को रिलिज मिति घोषणा गरिएको छ । संविधान दिवसको अवसरमा फिल्म असोज ३ गते विश्वभर एकसाथ प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । शुक्रबार फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो ।