‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक: हास्य रससँगै राजनीतिप्रति कटाक्ष

काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ । लाइट कमेडी देखिएको ट्रेलरले पारिवारिक दर्शक अपिल गरेको छ ।

अधिकांश समय होल्ड गरेका हरिवंश आचार्य कमेडी क्यारेक्टरमा देखिएका छन् । कतै चोर हुँदाका समस्या, कतै तीनवटी श्रीमती हुँदाका समस्या त कतै ज्यान मुद्दाको अभियुक्त हुँदाका समस्याको उल्झनमा उनी देखिएका छन् ।

टेलिभिजन सिरियलबाट क्यारी गरिएको चरित्रमा हरिवंश फेमेलियर देखिएका छन् । प्रकाश सपूत र स्वस्तिमा खड्काले निकै कम स्पेस पाएका छन् । उनीहरू कोही सोसल ट्रेन्ड त कोही युुवाको प्रतिनिधिका रुपमा देखिएका छन् ।

‘हरिबहादुरको जुत्ता’ दशैँको फूलपाती अर्थात् असोज १३ गते रिलिज हुँदै छ ।

दीपेन्द्र के खनालले निर्देशनमा निर्माण भएको यो चलचित्रमा हरिवंश आचार्य, प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सिता न्यौपाने, दिव्य देव लगायतका लोकप्रिय कलाकारहरूको अभिनय रहेको छ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको ‘हरिबहादुरको जुत्ता’लाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् ।

कृष्ण थापाको छायांकन रहेको यस चलचित्रमा सम्पादन नहकुल खड्काको छ । वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ ।

पारिवारिक र रमाइलो कथावस्तु भएको ‘हरिबहादुरको जुत्ता’लाई दशैँको पारिवारिक माहोलमा दर्शकले रुचाउने विश्वास निर्माण पक्षले लिएको छ ।


ताजा खबर