काठमाडौं । नेपाली र भारतीय फिल्मकर्मीको सहकार्यमा नयाँ चलचित्र निर्माण हुने भएको छ ।
बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा तयार हुन लागेको चलचित्रको नाम ‘मोना लिसा: ब्लडी लभ’ राखिएको छ ।
सोमबार घटस्थापनाको अवसर पारेर चलचित्रको औपचारिक घोषणा गर्दै टाइटल पोस्टर सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोस्टरमा फिल्मलाई ‘ब्लडी लभ’ (रगतिलो प्रेम) भन्ने ट्यागलाइन दिइएको छ, जसले रोमान्स र एक्सनको अनौठो मिश्रण हुने संकेत गरेको छ ।
प्रेमका लागि युद्धसम्म पुग्ने परिस्थितिलाई प्रस्तुत गर्ने बताइएको यस चलचित्रलाई दक्षिण भारतीय केही निर्मातासँगको सहकार्यमा नेपालमै निर्माण हुन लागेको हो ।
चलचित्रको लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन् ।
ठुलो बजेटमा निर्माण हुने भनिएको यस प्रोजेक्टमा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने अक्स इन्टरनेशनल स्टुडियोजले जानकारी दिएको छ ।
निर्माण पक्षका अनुसार हाल फिल्मको प्रारम्भिक तयारीसँगै कलाकार छनोट (कास्टिङ) प्रक्रिया सुरु भइसकेको छ । कथा, शैली र भिजुअलमा नवीनपन दिने उद्देश्यसहित तयार हुन लागेको ‘मोना लिसा (ब्लडी लभ)’ सन् २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजना रहेको छ ।