काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण हुने फिल्म ‘लज्जावती’को पशुपतिनाथ मन्दिर परिसरमा मुहूर्त गरिएको छ । सोमबार बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर यो फिल्मको मुहूर्तसँगै छायांकन सुरु गरिएको हो ।
फिल्मको मुहूर्त सटको निर्देशन लेखक प्रदीप भारद्धाजले गरेका हुन् । फिल्मका मुख्य कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले मुहूर्त सट दिएपछि ‘सिटामोल’ निर्माता विकासराज जोशीले नरिवल फुटाएका थिए । पशुपति आर्यघाटमा छायांकन गरिएको फिल्मको छायांकन सेड्युल ३० दिनको राखिएको निर्देशक साने बताउँछन् ।
आहा फिल्मस्को व्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीप रोकाया हुन् । दिपक भण्डारी कार्यकारी निर्माता तथा भिमराज रोकाया सह–निर्माता रहेको फिल्ममा दिव्यराज सुवेदीको छायांकन छ । दिव्यलाई छायांकनमा सह छायांकारको रुपमा प्रवीन सुवेदीले सघाउनेछन् । फिल्मका मुख्य सहायक निर्देशक विशाल बराल र मेकअप आर्टिष्ट रवी केसी हुन् ।
काठमाडौं आसपासमा छायांकन गरिने फिल्ममा मुकुन, श्रीकृष्ठ, मेनुका र जानुकासहित माओत्से गुरुङ, सुशिल पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्का लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मको सम्पुर्ण प्रोस्ट प्रोडक्सनको काम सकिएपछि मात्रै प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जानकारी दिएको छ ।