‘जेरी अन टप’मा समावेश पहिलो गीत सार्वजनिक, अनमोलसँग रोमान्टिक आँचल

काठमाडौं । अभिनेता अनमोल केसी, अभिनेत्री द्वय जसिता गुरूङ, आँचल शर्मा र हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)को शीर्ष भूमिका रहेको चलचित्र ‘जेरी अन टप’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

यही असोज ३१ गतेबाट दर्शकमाझ आउन लागेको चलचित्रको निर्माणपक्षले सोमबार घटस्थापनाको अवसर पारेर ‘कस्तुरी’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतको भिडियोमा अनमोल र आँचल फिचर्ड छन् । मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय दृश्यहरू कैद गरिएको भिडियोमा अनमोल र आँचलको केमिस्ट्रि आकर्षक देखिन्छ ।

किरण थापाले कोरियोग्राफी गरेको भिडियो उच्च मेकिङ र कलरफूल देख्न सकिन्छ । अनमोल र आँचललाई रोमान्टिक ‘लभ वर्ड’को रूपमा चित्रित गराएको गीतका शब्द र भिडियोमा समावेश दृश्यहरू प्रेमिल छन् ।

आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर रहेको गीतमा जयन जे वाइबाको संगीत रहेको छ । वाइबाकै शब्द र साउण्ड डिजाइन रहेको गीतमा अशोक थानेतको मिक्सिङ र मास्टरिङ छ ।

अनन्या फिल्मस्को ब्यानर निर्माण भएको ‘जेरी अन टप’मालाई सुयोग गुरुङको निर्देशन गरेका हुन् । यो चलचित्रले विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रमको प्रेमकथा प्रस्तुत गर्छ ।

हेमराज बिसीको कथा रहेको रोमाञ्चक रोड ट्रिप चलचित्रले अनमोललाई पुनः रोमान्टिक अवतारमा प्रस्तुत गर्ने बताइएको छ ।

सरोज न्यौपानेको प्रस्तुतिमा तयार ‘जेरी अन टप’को निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानीमा साझेदारी गरेका छन् ।

अनुराधा गिरी र इश्वर श्रेष्ठ फिल्मको कार्यकारी निर्माता रहेको चलचित्रको एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् ।

‘जेरी अन टप’मा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन छ ।

यो चलचित्रलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

https://youtube.com/watch?v=uKwJCwBs8dA%3Ffeature%3Doembed

ताजा खबर