काठमाडाैं । नेपाली चलचित्र उद्योगमा यस्तो अवस्था बिरलै आउँछ जब एकै कलाकारका दुई फिल्म एकै मितिमा प्रदर्शनमा आउँछन् । यो संयोग कमैलाई जुर्छ, तर जब जुर्छ, तब कलाकारका लागि यो अवसरभन्दा बढी सकस बन्ने गरेको छ ।
यस्तो अवस्थामा कलाकारलाई दुवै फिल्मको प्रचारप्रसार र दर्शकको ध्यान तान्न ठूलो चुनौती हुन्छ । पहिला अभिनेता दयाहाङ राईले भोगे, यस्तै अनुभव भर्खरै मात्रै अभिनेत्री वेनिशा हमालले पनि सामना गरिन् ।
दयाहाङ राईका फिल्म ‘जारी’ र ‘बिहे पास’ एकै दिन रिलिज हुँदा बक्स अफिसमा रोचक प्रतिस्पर्धा देखिएको थियो । त्यसपछि पनि उनका ‘दयारानी’ र ‘हात्तीछाप’ एकै मितिमा प्रदर्शनमा आएका थिए । अभिनेत्री बेनिशाका दुई सिनेमा ‘मोहर’ र ‘सिटामोल’ पनि एकैदिनदेखि प्रदर्शनमा आए । अब अर्का गायक तथा अभिनेता प्रकाश सपूतले गर्नुपर्ने भएको छ।
अब आउँदै गरेको दसैँलाई लक्षित गरी प्रकाश अभिनित दुई फिल्म ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकै मितिमा रिलिज हुने भएका छन् ।
यो प्रकाशको करिअरमा पहिलो पटक भएको हो, जहाँ उनले एकैसाथ दुई भिन्न कथावस्तु बोकेका फिल्मको प्रचारमा जुट्नुपरेको छ ।
कलाकारलाई एउटै फिल्मको प्रचारप्रसारमा दौडिनुपर्दा पनि समय व्यवस्थापन र मिडियालाई पर्याप्त समय दिन हम्मेहम्मे पर्छ। यस्तोमा दुई फिल्मको प्रचार एकैसाथ गर्दा मानसिक र शारीरिक दुवै हिसाबले तनाव बढ्छ। प्रकाशले यतिबेला ‘माइतीघर’ को भावनात्मक पक्ष र ‘हरिबहादुरको जुत्ता’ को सामाजिक सन्देश दुवैलाई समान रूपमा दर्शकमाझ पुर्याउन कसरत गरिरहेका छन् ।
दुवै फिल्मले आ-आफ्नो प्रचार सामग्रीमार्फत दर्शकमाझ राम्रै हाइप सिर्जना गरेका छन् । ‘माइतीघर’ एक पारिवारिक कथामा आधारित मानिएको छ भने ‘हरिबहादुरको जुत्ता’ ले समाजको यथार्थलाई फरक ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। अब यी दुई फिल्मले बक्स अफिसमा कस्तो व्यापार गर्छन्, कुनले दर्शकको बढी माया पाउँछन्, त्यो हेर्नका लागि भने फिल्म रिलिज र त्यसपछिका केही दिन पर्खिनुपर्नेछ ।
यद्यपि, दयाहाङ र वेनिशाको अनुभवबाट पाठ सिक्दै प्रकाशले यो चुनौतीलाई कसरी सामना गर्छन् र उनका दुवै फिल्मले कस्तो नतिजा दिन्छन् भन्ने कुराले नेपाली चलचित्र उद्योगमा नयाँ बहस सिर्जना गर्ने निश्चित छ ।