‘जेरी अन टप’को तामाङ सेलो गीत ‘कुरौनी’ सार्वजनिक

काठमाडौं । अभिनेता अनमोल केसी, अभिनेत्री द्वय जसिता गुरूङ, आँचल शर्मा र हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)को शीर्ष भूमिका रहेको चलचित्र ‘जेरी अन टप’को गीत ‘कुरौनी’ सार्वजनिक भएको छ ।

गीतमा कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत छ । स्वर कालीप्रसाद र सोमिया बराइलीको रहेको छ । प्रेमिल गीतमा घरजमको कुरा छ । हिमाली भेगमा पुगेको एक युवक तामाङ समुदायको सांस्कृतिक कार्यक्रममा पुग्छन् । नाचिरहेकी युवती मन परेपछि सँगै नाच्न पुगेका युवक घरजम गर्न बेसी कहिले झर्ने भनेर सोध्छन् । युवतीले जागिर खाएर लिन आउ भन्छिन् । तर, सँगै गएकी युवतीले युवकलाई अंगालो हालेपछि तामाङ युवती बनेसँगै गीत सकिन्छ ।

गीतमा त्रिकोणात्मक प्रेम कथा छ । सिनेमाको सारांश गीतले खिच्ने प्रयास गरेको छ । गीतको भिडियोमा मुख्य कलाकार अनमोल, जसिता, आँचल र केदार घिमिरे छन् । गीतमा तामाङ संस्कृति र सहरिया पन एकैठाउँमा देखिन्छ ।

यही असोज ३१ गतेबाट दर्शकमाझ आउन लागेको चलचित्र ‘जेरी अन टप’लाई सुयोग गुरुङले निर्देशन गरेका छन् । यो चलचित्रले विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रमको प्रेमकथा प्रस्तुत गर्छ ।

हेमराज बिसीको कथा रहेको रोमाञ्चक रोड ट्रिप चलचित्रले अनमोललाई पुनः रोमान्टिक अवतारमा प्रस्तुत गर्ने बताइएको छ ।

सरोज न्यौपानेको प्रस्तुतिमा तयार ‘जेरी अन टप’को निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानीमा साझेदारी गरेका छन् ।

अनुराधा गिरी र इश्वर श्रेष्ठ फिल्मको कार्यकारी निर्माता रहेको चलचित्रको एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् ।

‘जेरी अन टप’मा कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन छ ।


ताजा खबर