काठमाडौं । ‘कबड्डी’ फ्रेन्चाइजको पाँचौँ श्रृंखला ‘कबड्डी ५’ को छायांकन सोमबारदेखि मुस्ताङमा सुरु भएको छ । चौथो श्रृंखलालाई अन्तिम भनिए पनि निर्माण पक्षले नयाँ कथाका साथ यो श्रृंखला ल्याउने भएका हुन् ।
मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गरेपछि लार्जुङ बस्तीमा पहिलो दृश्य खिचिएको थियो ।
फिल्ममा ‘कबड्डी’ श्रृंखलाका दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की र शिशिर वाङ्गदेल लगायतका परिचित अनुहार दोहोरिएका छन् । यसै फिल्मबाट पूर्व मिस यूके नेपाल सिर्जना गुरुङले डेब्यु गर्दैछिन् ।
पहिलो र दोस्रो श्रृंखलामा मुख्य भूमिकामा देखिएकी र तेस्रोमा केमियो गरेकी अभिनेत्री रिश्मा गुरुङ (मैयाँ) पनि ‘कबड्डी ५’ मा फर्किएकी छिन् । उनले यसै साताबाट छायांकन सुरु गर्नेछिन् । विगत तीन वर्षदेखि अमेरिकामा रहेकी उनी भदौदेखि नेपालमै छिन् ।
निर्माता मणिराम पोखरेलका अनुसार अभिनेता विपिन कार्कीको पनि फिल्ममा मुख्य भूमिका रहनेछ । विपिन तिहारपछि छायांकनमा जोडिनेछन् । रामबाबु गुरुङको निर्देशनमा बन्ने यो फिल्मको ७० प्रतिशत छायांकन मुस्ताङमा र ३० प्रतिशत काठमाडौंमा हुनेछ ।
निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मका छायाँकार सञ्जय लामा हुन् ।