काठमाडौं । कात्तिक १४ गते रिलिज हुने चलचित्र ‘परान’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेमसँगै गाउँ, समाज, दुई पुस्ताको सम्बन्ध र भरोसा देखाइएको छ ।
ट्रेलरमा छोराछोरीका लागि बाच्ने बुवाआमा र आफ्नै लागि बाँच्ने छोराछोरीको कथालाई देखाउने प्रयास गरिएको छ ।
चलचित्रका अधिकांश कलाकार अटाएको ट्रेलरमा सुन्दर क्यामेरावर्क छ, जसले गाउँको सुन्दरता देख्न सकिन्छ । लुकाएर गरिएको प्रेम, विछोड र रोमान्स पनि ट्रेलरमा देख्न सकिन्छ ।
‘परान’लाई दीपकप्रसाद आचार्यले निर्देशन गरेका छन् । आचार्यकै कथा रहेको यस फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका छन् ।
देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रा।लि।’ले चलचित्र निर्माण गरेको हो ।
चलचित्रमा नीर शाह, महेश त्रिपाठी, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राईलगायत कलाकारको अभिनय छ ।