चलचित्र ‘बब डाई’ को छायांकन सम्पन्न

कमेडी जनरामा निर्माण भएको चलचित्र ‘बब डाई’ को छायांकन ४२ औं दिनमा सम्पन्न भएको छ । सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको यस चलचित्रको दुई वटा गीतबाहेक अन्य सम्पूर्ण दृश्यको छायांकन सकिएको निर्माण पक्षले जनाएको छ ।

निर्देशक प्रवीण श्रेष्ठका अनुसार चलचित्रको अधिकांश छायांकन काठमाडौंको चन्द्रागिरी र कीर्तिपुर नगरपालिका भित्रका विभिन्न स्थानहरूमा गरिएको छ ।

“दुई गीतको छायांकन केही सातापछि गर्ने तालिका छ, हाललाई बाँकी सबै दृश्य खिचेर हामी पोस्ट-प्रोडक्सन (सम्पादन) को काममा लागेका छौं,” निर्देशक श्रेष्ठले बताए ।

रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्मित यो चलचित्र कीर्तिपुरको एक युवकको जीवनकथामा आधारित छ ।

अभिनेता मल्लले चलचित्रमा ‘बब डाई’ को शीर्ष भूमिका निर्वाह गरेका छन् । नेवारी लवजमा ‘दाई’ लाई ‘डाई’ भनिने भएकाले चलचित्रको नाम ‘बब डाई’ राखिएको निर्देशकको भनाइ छ । चलचित्रले हास्यव्यंग्यका माध्यमबाट सामाजिक विषयवस्तुलाई समेत उठान गरेको दाबी गरिएको छ ।

चलचित्रमा सौगात र सिम्रनका साथै सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी लगायतका कलाकारहरूको अभिनय रहेको छ । बालकलाकारका रूपमा अग्रिम पण्डित देखिनेछन् ।

मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा रहेको यस चलचित्रको सम्पादन स्वयम् निर्देशक श्रेष्ठले नै गर्दैछन् । श्याम तामाङ र टोलीले खिचेको यस चलचित्रमा दिनेश बहादुर राउत एसोसिएट निर्देशक र तर्कराज न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् ।

राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता रविन्द्र प्रजापती हुन् । निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति भने हालसम्म सार्वजनिक गरेको छैन ।


ताजा खबर