‘गोबर गणेश’ को ट्रेलर र गीतमा मिलयन भ्युज, दर्शक भन्छन्- मन जित्यो

काठमाडौं । चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को मुख्य भूमिका तथा निर्देशनमा तयार भएको चलचित्र ‘गोबर गणेश’ को चर्चा यतिबेला चुलिएको छ । सार्वजनिक भएको केही समयमै चलचित्रको ट्रेलर र यसमा समावेश गीत ‘ओ हेलो हाई हाई’ ले युट्युबमा मिलयन भ्युज पार गर्दै दर्शकको मन जित्न सफल भएका छन् ।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा एक गाउँले युवकको काठमाडौँ छिरेपछिको सङ्घर्ष, पारिवारिक सम्बन्ध र मित्रताको कथालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । ट्रेलरमा देखिएको आमा-छोराको भावनात्मक सम्बन्ध र शहरको कठोर वास्तविकताले धेरै दर्शकलाई भावुक बनाएको छ ।

मरिचमान श्रेष्ठको स्वर रहेको ‘ओ हेलो हाई हाई’ बोलको गीत अहिले टिकटक र युट्युबमा निकै लोकप्रिय बनेको छ । मरिचमान श्रेष्ठ र वर्षा सिवाकोटी फिचर्ड यो गीतले दर्शकलाई डान्सिङ बिटमा झुमाएको छ ।

समाचार तयार पार्दासम्म चलचित्रको ट्रेलर र गीत दुवैले युट्युबमा मिलयन भ्युजको आँकडा पार गरिसकेका छन्, जसले चलचित्रप्रति दर्शकको व्यग्र प्रतीक्षालाई झल्काउँछ ।

युट्युबको कमेन्ट बक्समा दर्शकहरूले चलचित्रको विषयवस्तु र कलाकारको अभिनयको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । एक दर्शकले लेखेका छन्, “ट्रेलर हेर्दा मनै छुन्छ, गाउँबाट शहर आएर सङ्घर्ष गर्ने हरेक युवाको कथा यसमा झल्किएको छ ।”

त्यस्तै अर्का दर्शक लेख्छन्, “बल्छी धुर्बे दाइको अभिनय सधैं प्राकृतिक लाग्छ । हाँसो र आँसु दुवैको समिश्रण ट्रेलरमा देखियो, फिल्म सुपरहिट हुने पक्का छ ।” धेरै दर्शकले चलचित्रको टाइटल ‘गोबर गणेश’ मौलिक र फरक रहेको भन्दै प्रशंसा गरेका छन् ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा बल्छी र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।

चलचित्रको कथा र निर्देशन स्वयं मरिचमान श्रेष्ठले गरेका हुन् । उनको यो पहिलो फिचर फिल्म निर्देशन हो । ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी त्यसपछि आफैँ टेलिचलचित्र निर्देशनमा आएका थिए । उनका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन् ।

शिवराम श्रेष्ठको छायांकन र विपिन मल्लको सम्पादन रहेको यो चलचित्र आगामी माघ १ गते (माघे संक्रान्ति) देखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।


ताजा खबर