‘मुगलान’को कमाइ ६ लाख मात्रै, परान र ‘झरीपछिको इन्द्रेणी’ ले कति कमाए ?

बक्स अफिसमा फिल्म ‘मुगलान’को व्यापार निराशाजनक देखिएको छ । पुस १० गते रिलिज भएको यस फिल्मले हालसम्म जम्मा ६ लाख ५ हजार २९४ रुपैयाँ ग्रस कमाइ गरेको छ। सिनेपाः बक्सअफिसका अनुसार फिल्मका २ हजार २८८ टिकट मात्र बिक्री भएका छन्।

सोमबार सार्वजनिक गरिएको पछिल्लो बक्सअफिस रिपोर्ट अनुसार, शनिबार (१९ पुस) सम्म अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ले ९३ लाख ८३ हजार ५१६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। १६ दिनको प्रदर्शनमा फिल्मले २९ हजार ६८३ टिकट बिक्री गरेको भए पनि अझै १ करोडको आँकडा पार गर्न सकेको छैन।

काठमाडौं महानगरका मेयर बालेन शाहसहित उनको निकट टिमले व्यापक प्रचार गरे पनि त्यसको प्रभाव बक्स अफिसमा देखिन नसकेको हो। अब आउने सप्ताहन्तमा फिल्मले कस्तो सुधार गर्छ, त्यो प्रतीक्षाको विषय बनेको छ। भ्रष्टाचार र बेथितीविरुद्ध युवापुस्ताको संघर्षमा आधारित यस फिल्मबाट अभिनेता गणेश उप्रेतीले लामो अन्तरालपछि पुनरागमन गरेका छन्।

यता, दीपक आचार्य ‘काकु’ निर्देशित यस वर्षको तेस्रो सफल फिल्म ‘परान’ले भने बलियो व्यापार गरिरहेको छ। फिल्मले शनिबारसम्म १७ करोड ७१ लाख १७ हजार ८३० रुपैयाँ ग्रस कमाइ गरेको छ भने ६ लाख २८ हजार ७९३ टिकट बिक्री भएका छन्।

खगेन्द्र लामिछाने अभिनीत ‘हर्ष’ले सोही अवधिसम्म २८ लाख ७८ हजार ८३६ रुपैयाँ ग्रस कमाइ गर्दै ८ हजार ८६८ टिकट बिक्री गरेको छ।

त्यस्तै, कामेश्वर चौरासिया स्टारर फिल्म ‘अभिमन्यु’ले २१ लाख ५८ हजार ४०२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने यसको टिकट बिक्री संख्या ६ हजार ८९२ पुगेको छ।

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को व्यापार पनि कमजोर नै देखिएको छ। फिल्मले ६ लाख ८२ हजार २८३ रुपैयाँ ग्रस कमाइ गर्दै २ हजार १६६ टिकट बिक्री गरेको सिनेपाः बक्सअफिस रिपोर्टमा छ ।


ताजा खबर

No comments to show.