काठमाडौं । यही माघ ९ गते अर्थात् शुक्रवारबाट प्रदर्शनमा आउने एक्सन फिल्म ‘परिवर्तन’को सेन्सर पास भएको छ । चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मलाई पिजी सर्टिफिकेट दिएसँगै यो फिल्मको सेन्सर पास भएको हो । यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिकाका दर्शकले अभिभावक साथैमा लैजानुपर्ने छ।
फिल्मलाई पुराना फिल्म निर्देशक विजय केरुङले निर्देशन गरेका हुन् । फिल्मको सेन्सर पास भइसकेपछि निर्देशक केरुङले फिल्ममा समसामयिक विषयवस्तु र राजनीतिक उथलपुथल फिल्ममा रहेकाले पिजी सर्टिफिकेट पाएको बताए । उनका अनुसार केही डर लाग्दा दृश्यका कारण १६ वर्षमुनिका दर्शकले फिल्म हेर्नका लागि अभिभावक चाहिएको हो ।
यो फिल्मको पछिल्लो समय गीतका साथै ट्रेलर चर्चामा रहेको छ । फिल्ममा समावेश गीत ‘पाकेको चिउरी’दर्शकमाझ असाध्यै लोकप्रिय बनेको छ भने यसको ट्रेलरलाई दर्शकले छोटो समयमा नै ११ लाखभन्दा बढी दर्शकले हेरेका थिए ।
फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेको मुख्य भूमिका रहेको छ ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’लाई दीपक सिवाकोटीले निर्माण गरेका हुन् । निर्माता सिवाकोटीकै कथा रहेको यस फिल्मको पटकथा तथा संवाद भने शिवम् अधिकारीले लेखेका छन् ।
।
एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्ममा बन्दे प्रसादको सम्पादन,रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने एसडी योगीको संगीत सुन्न सकिन्छ ।
यस फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन दर्शकले हेर्न पाउने छन् । पछिल्लो समय उनी द्वन्द्व निर्देशनमा निकै चर्चामा रहेका छन् । उनको तारिफ हुँदै आएका छन् । फिल्मलाई आर आर फिल्मस्ले वितरण गरेको हो भने ओएसआर डिजिटलले सहकार्य गरेको छ । फिल्म यही माघ ९ गते अर्थात् शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आउँदै छ ।








