लक्ष्मण सुनारको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कल्ली’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । करिब दुई महिना लामो छायांकन तालिका पछि चोभारमा एक गीतको सुटिङ गर्दै सिनेमाको निर्माण पक्षले छायांकन सकिएको घोषणा गरेको हो ।
यस चलचित्रको अन्तिम दृश्यका रूपमा अभिनेत्री पूजा शर्माको ‘आइटम डान्स’ खिचिएको छ । चोभारमा दुई दिन लगाएर खिचिएको यो गीतसँगै चलचित्रको ६० दिने छायांकन यात्रा पुरा भएको निर्माता किरण नेपालीले जानकारी दिए ।
अभिनेत्री पूजा शर्माले यस चलचित्रमा ‘क्या राम्री’ बोलको गीतमा कम्मर मर्काएकी छन् । विवाहपछि पहिलो पटक फिल्मको सेटमा फर्किएकी पूजाका लागि यो गीत विशेष छ । उनले आफ्नो करिअरमा पहिलो पटक ‘आइटम डान्स’ गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
आशिष अविरलको संगीत तथा आशिष र मेलिना राईको स्वर रहेको यस गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । सुरेन्द्र रानाको शब्द रहेको यस गीतको भिडियोमा पूजासँगै नायक उत्तम प्रधान, किरण श्रेष्ठ र सुलक्षण भारतीको आकर्षक नृत्य देख्न सकिनेछ ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘कल्ली’मा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, उत्तम प्रधान, सुलक्षण भारती, बिनोद न्यौपाने लगायतको मुख्य भूमिका छ ।
निर्देशक सुनार कै कथा रहेको यस चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् । चलचित्रले ‘देवता र राक्षस’ बीचको द्वन्द्व र सामाजिक विषयवस्तुलाई प्रस्तुत गर्ने बताइएको छ ।
निसाल पौडेल छायाकार रहेको सिनेमाको अधिकांश भाग जुम्लाका दुर्गम तथा रमणीय स्थानहरूमा खिचिएको छ ।
निर्माताका अनुसार पूजा शर्मा फिचर्ड ‘आइटम गीत’ केही समयपछि सार्वजनिक गरिनेछ । आगामी फागुन १ गते (शिवरात्रि लक्षित) देखि यो चलचित्र देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ ।








