काठमाडौं । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘गोबर गणेश’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ ।
माघ १ गते (माघे संक्रान्ति) देखि प्रदर्शनमा आएको यो चलचित्रले १ करोड १० लाख रुपैयाँ भन्दा बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ । ९ दिन (शुक्रबार) सम्ममा चलचित्रले उक्त कमाइ गरेको हो ।
दोस्रो सातामा पनि चलचित्रले हलमा दर्शकको उत्साहजनक साथ पाइरहेको छ भने विशेषगरी दर्शकको सकारात्मक प्रतिक्रिया बलियो भएका कारण ‘गोबर गणेश’ हेर्ने दर्शकको सङ्ख्या बढ्दै गएको देखिएको छ ।
दर्शको वर्डअफ माउथ राम्रो बनेसँगै यो चलचित्रका कलाकारहरू विभिन्न सिनेमा हलहरूमा पुगेर प्रतिक्रिया लिइरहेका छन् ।
चलचित्र हेरेर निस्किएका अधिकांश दर्शकले यसलाई ‘आफ्नै घरको कथा’ भन्दै प्रशंसा गरेका छन् । निम्नमध्यम वर्गीय नेपाली परिवारको दैनिक संघर्ष, सपना र बाध्यतालाई पर्दामा दुरुस्तै उतारिएको भन्दै दर्शक भावुक समेत हुने गरेका छन् ।
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा तयार भएको यस चलचित्रमा मरिचमान श्रेष्ठसँगै वर्षा शिवाकोटी, बुद्धि तामाङ, पदम तामाङ, विनोद न्यौपाने, निर्मल शर्मा, माओत्से गुरुङ र सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), सन्तोष बानियाँ लगायतको अभिनय देख्न सकिन्छ ।
यसअघि टेलिभिजन पर्दामा ‘बल्छी धुर्वे’ को रूपमा रुचाइएका मरिचमानले ठूलो पर्दामा पनि निर्देशक र कलाकार दुवै भूमिकामा आफूलाई सफल प्रमाणित गर्ने संकेत चलचित्रले अहिले पाइरहेको मायाबाट देखिन्छ ।
निर्देशक तथा मुख्य कलाकार मरिचमान श्रेष्ठ भन्छन्, “हामीले एउटा इमानदार कथा भन्ने प्रयास गरेका थियौँ । दर्शकले हलबाट निस्कँदा ‘यो मेरो आफ्नै कथा हो’ भनिरहनु भएको छ । एउटा मेकरका लागि यो नै सबैभन्दा ठूलो अवार्ड हो । दर्शकको यो मायाले अबका दिनमा हलमा उपस्थिति अझै बढ्नेमा हामी ढुक्क छौँ ।”








