दिनेश सिटौलाप्रति समर्पित गर्दै ‘श्री बुकुरो’को पहिलो झलक सार्वजनिक

गत आइतबार निधन भएका चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको सम्झनामा आगामी फागुन १ गते रिलिज हुने फिल्म ‘श्री बुकुरो’ले फिल्मको एक दृश्य सार्वजनिक गरेको छ । फिल्मका मिडिया संयोजकसमेत रहेका पत्रकार सिटौला प्रति श्रद्धाञ्जली व्यक्त गर्न फिल्म युनिटले बुधबार पत्रकारमाझ फिल्मको दृश्य सार्वजनिक गरेको हो ।

फिल्मका निर्देशक सुदीप भुपाल सिंहले पत्रकार सिटौलालाई मनपरेको फिल्मको दृश्य सार्वजनिक गरिएको बताए । ‘एक वर्षदेखि दिनेशजीसँग यो फिल्मको विषयमा छलफल गरिरहेका थियौं । तर उहाँको अचानक निधन भएपछि उहाँप्रति समर्पित गर्दै यो दृश्य सार्वजनिक गरेका हौं । उहाँले मलाई यो दृश्य सर्वाधिक मनपर्ने बताउनुभएको थियो’, निर्देशक सिंहले भने ।

सार्वजनिक दृश्यमा फिल्मका प्रमुख पात्र आशिर्वाद क्षेत्रीको विवाह गर्ने प्रसंगलाई देखाइएको छ । आशिर्वादले मनपराएकी केटीको चिना नमिलेपछि उत्पन्न तनावलाई दृश्यमा समेटिएको छ । फिल्मबाट निर्देशक सुदीप भुपाल सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय छ । निर्देशक सिंह स्वयंको लेखन रहेको फिल्मलाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।

सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन, सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको फिल्मको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो ।

गत शुक्रबारदेखि काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालमा उपचारार्थ दिनेशको आइतबार दिउँसो १२ः४५ बजे ब्रेन ह्यामरेजका कारण निधन भएको थियो । ४५ वर्षका दिनेश अविवाहित थिए । अछाम भ्रमणको क्रममा शुक्रबार बिहान साढे ९ बजेतिर अचानक बेहोस भएपछि उनलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट थप उपचारका लागि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै काठमाडौं ल्याएर ग्रान्डी अस्पतालको (आईसीयू)मा भर्ना गरिएको थियो ।


ताजा खबर

No comments to show.