यौनकर्मीको जीवनमा बनेको ‘लालिमा’को मर्मस्पर्शी टिजर सार्वजनिक

नेपाली चलचित्र क्षेत्रमा सामाजिक यथार्थवाद र भुइँमान्छेका कथा समेट्ने प्रयास स्वरूप चलचित्र ‘लालिमा’ को टिजर सार्वजनिक गरिएको छ ।

आगामी फागुन २९ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्र केवल एउटा पर्दाको कथा मात्र नभई नेपाली समाजको सबैभन्दा उपेक्षित र तिरस्कृत वर्ग, यौनकर्मी महिलाहरूको वास्तविक जीवन र उनीहरूले भोग्दै आएको प्रणालीगत विभेदको दस्तावेजीकरण भएको निर्माण पक्षले दाबी गरेको छ ।

निर्देशक रोशन मिराजका अनुसार यो चलचित्र झण्डै ३ हजार यौनकर्मी महिलाहरूको वास्तविक भोगाइ र अन्तर्वार्ता मा आधारित छ । चलचित्रको केन्द्रमा ‘लालिमा’ (रोशनी कार्की) छिन्, जसको जीवनका दुईवटा पाटा छन्, एउटा आफ्नो परिवारप्रतिको जिम्मेवारी र अर्को समाजले उनलाई हेर्ने घृणित दृष्टिकोण ।

चलचित्रको मूल द्वन्द्व तब सुरु हुन्छ जब लालिमा आफ्नी बोल्न नसक्ने (म्युट) आमालाई कारागारको कालकोठरीबाट मुक्त गराउने संकल्प गर्छिन् । यो यात्रामा उनले सहरको त्यो अँध्यारो सुरुङभित्र पस्नुपर्छ, जहाँ मानवता हराएको छ र केवल शोषण जीवित छ । टिजरले लालिमाको त्यही मानसिक र शारीरिक छटपटीलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।

४९ सेकेन्डको छोटो टिजरमा कुनै संवाद नभए पनि दृश्यहरू आफैँ बोल्छन् । टिजरको सुरुवातमा लालिमाले ऐना हेर्दै गरेको र पछि ऐना फुटेको दृश्यले उनको पहिचान र सपनाहरूको विखण्डनलाई संकेत गर्छ । ओछ्यानमा उनको छटपटी र हातमा चक्कु लिएर देखिएको डरमिश्रित आक्रोशले उनले भोग्नुपर्ने चरम हिंसा र त्यसका विरुद्ध उनले गर्ने सम्भावित विद्रोहलाई चित्रण गर्छ ।

चलचित्रमा रोशनी कार्की ले शीर्ष भूमिकामा चुनौतीपूर्ण अभिनय गरेकी छिन् । उनीसँगै नेपाली फिल्म उद्योगका स्थापित नामहरू उषा रजक र शिशिर वाङ्देल को महत्वपूर्ण भूमिका रहेको छ । अन्य कलाकारहरूमा जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कटेल, किशोर भण्डारी, कृष्णभक्त महर्जन लगायतको अभिनय छ ।

 फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् । 

चलचित्रबारे निर्देशक मिराज भन्छन्, ‘फिल्मको कथा लालिमा पात्रको कठिन यात्रासँग सम्बन्धित छ । एक घटनाले लालिमाकी बोल्न नसक्ने आमा कारागार पुग्छिन् । आमालाई कारागार मुक्त गराउने क्रममा लालिमा सहरको कठोर र अँध्यारोतर्फ धेकेलिन्छन् । त्यसपछि शारीरिक, भावनात्मक र मानसिक पीडामा उनी कसरी बाँच्न बाध्य हुन्छिन् भन्ने कथा फिल्ममा छ ।’


ताजा खबर