इलाममा फ्रेन्ड्स सिनेमाको नयाँ हल सञ्चालनमा, पल र उषाले गरे उद्घाटन

पर्यटकीय नगरीको रूपमा चिनिएको इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा आएको छ । शुक्रबार अभिनेता पल शाह र अभिनेत्री उषा उप्रेतीले संयुक्त रूपमा रिवन काटेर हलको उद्घाटन गरे । कार्यक्रममा अहिलेको सुपरहिट फिल्म ‘आ बाट आमा’का निर्देशक चन्द पन्तको पनि उपस्थिति रहेको थियो । सो हलमा पहिलो फिल्म पनि यही देखाइयो ।

इलामको पुरानो बसपार्कस्थित नगरपालिकाको पार्किङ भवनमा सञ्चालनमा आएको उक्त हलमा १८८ सिट क्षमताको एउटा मात्र स्क्रिन रहेको छ । करिब ३ करोड ५० लाख रूपैयाँको लगानीमा निर्माण भएको यो हलमा टुके प्रोजेक्सन र डल्बी डिजिटल साउन्ड सिस्टम जडान गरिएको फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीले बताए ।

हलको उद्घाटनपछि धामीले भने, ‘हाम्रो लक्ष्य भनेकै मोफसलका दर्शकलाई राजधानी स्तरको सेवा दिनु हो । अब इलामका दर्शकले फिल्म हेर्नका लागि झापा झर्नुपर्ने बाध्यता अन्त्य भएको छ । हामीले अत्याधुनिक प्रविधिसँगै आरामदायी बस्ने व्यवस्था र पारिवारिक वातावरणलाई प्राथमिकता दिएका छौँ ।’ उनले फ्रेन्ड्स सिनेमाजको शाखा अन्य जिल्लामा पनि विस्तार गरिने बताए ।

त्यस्तै, फ्रेन्डस् सिनेमाजका निर्देशक आशिस एच तामाङले पहाडी भेगका दर्शकको फिल्मसम्म पहुँच पुर्‍याउन इलाममा हल खोलेको बताए । नेपाली फिल्मको बजार विस्तार गर्न सबैभन्दा पहिला घरेलु बजार बढाउनुपर्नेमा उनले जोड दिएका छन् । हरेक जिल्लामा हल खोल्ने हो भने अहिलेकै अवस्थामा पनि घरेलु बजार दोब्बरले बढ्ने उनको भनाइ छ ।


ताजा खबर