निर्धारित समयमै ‘प्याकअप’ भयो ‘कमला मिस’

काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कमला मिस’को छायांकन पूरा भएको छ ।

फागुन १ गतेबाट सुरु भएको चलचित्रको छायांकन २३ दिनमा मंगलबार सम्पन्न भएको हो ।

बीचमा चुनावका कारण तीन दिन काम रोकिए पनि चलचित्रलाई तोकिएकै कार्यतालिका भित्रै सम्पन्न गरिएको छ । चलचित्रका लाइन प्रोड्युसर पुस्कर लामा (प्रेम भोम्जन) का अनुसार टिमको कडा मेहनत र प्रभावकारी व्यवस्थापनका कारण करिब तीन सातामा सम्पूर्ण छायांकन सकिएको हो ।

साहित्यकार विजय मल्लको कथामा आधारित यो चलचित्र ‘मनोवैज्ञानिक’ विषयवस्तुमा केन्द्रित छ । चलचित्रमा निर्देशक निर शाह स्वयं मुख्य भूमिकामा देखिनेछन् भने उनलाई रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल र भावना मगर लगायतका कलाकारले साथ दिएका छन् । यस्तै सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडाको पनि यसमा अभिनय रहेको छ ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको यस चलचित्रको कार्यकारी निर्मातामा उमेश मल्ल र चैतन्य प्रधान रहेका छन् । चलचित्रको पटकथा तथा संवाद निर शाह र प्रजल दुलालले मिलेर तयार पारेका हुन् ।

शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रमा युग भुसालको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

नेपाली चलचित्र जगतका ‘भीष्म पितामह’ मानिने निर शाह करिब एक दशकपछि निर्देशनमा फर्किएका हुन् । यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चलचित्र निर्देशन गरि सकेका छन् ।


ताजा खबर