आगामी बैशाख १८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर रहेको छ । गीतको संगीत स्वयं खेम सेन्चुरीले दिएका हुन् भने शब्द रमेश बिजीले रचना गरेका हुन् ।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा मायाको निशानी सुम्पिने भावलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ । प्रदीप लामाको कोरियोग्राफी रहेको भिडियोमा स्वस्तिमा खड्का, प्रदीप लामा र बाल कलाकार समाइरा थापाको आकर्षक नृत्य देख्न सकिन्छ । साथै, फिल्मका मुख्य कलाकार रविन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ र विशाल देवकोटा पनि भिडियोमा देखिएका छन् । गीतलाई भव्य बनाउन सेट डिजाइन, प्रप्स र कोरसमा पनि विशेष मेहनत गरिएको देखिन्छ ।
सिनेमामा अभय बराल, आशा पौडेल, गोविन्द सुनार, प्रेम पाण्डे, आभा अर्याल, तारा शर्मा, रमेश बादी र सरस्वती अधिकारीलगायत कलाकारको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनय क्षेत्रमा डेब्यु गरेका छन् ।
फिल्मको कथा निर्देशक थापा स्वयंले लेखेका हुन् भने संवाद र पटकथा यम भट्टराई र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार पारेका छन् ।
षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशन प्रजापतीको छायांकन, मित्रदेव गुरुङको सम्पादन तथा रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउन्ड म्युजिक रहेको छ । फिल्ममा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको संगीत सुन्न पाइनेछ ।
फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने निर्माता म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ रहेका छन् । रुपक प्रताप अधिकारी प्रोडक्सन म्यानेजर रहेको यस फिल्मका क्रियटिभ निर्देशक जेभी रुवाली हुन् ।








