काठमाडौं । चलचित्र ‘मितज्यू’को नयाँ गीत सार्वजनिक गरिएको छ ।
यसअघि सार्वजनिक गरिएको ‘गैराघरे काइँली’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहँदा निर्माण पक्षले आइतबार लोकलयमा आधारित दोस्रो गीत ‘भुनभुन माहुरी’ रिलिज गरेको हो ।
आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको सार्वजनिक गीतमा श्रीकृष्ण बम मल्लको शब्द तथा संगीत छ भने लक्ष्मी मल्ल र श्रीकृष्णकै स्वर छ ।लोकलयमा आधारित यस गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र रुषा न्याैपानेले आकर्षक नृत्य प्रस्तुत गरेका छन् ।
निङ्मा डी लेप्चाको कोरियोग्राफी रहेको भिडियोमा तीन पात्रबीचको मायाप्रेमलाई चित्रण छ । “टाढा भइस नभन त कहिले ,तिमीसँगै छु सानु म जहिले” भन्ने भाव गीत र भिडियोमा प्रस्तुत गरिएको छ ।
दोहोरी संस्कृतिलाई समेटेर तयार पारिएको यो गीत दोहोरी साँझको परिवेशमा छायांकन गरिएको छ, जसले गीतलाई थप जीवन्त बनाएको छ ।
अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरका अलावा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारको अभिनय रहेको छ । यसै फिल्ममार्फत तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन् ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा जनक घर्ती मगरको लगानी रहेको छ । फिल्ममा लोकेश बज्राचार्यको सम्पादन र शिशिर बिशंखेको छायांकन रहेको छ ।








