जितु र प्रियनाको मुख्य अभिनय रहेको ‘कार्की साइँला’ असोज २ मा प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा गरिएको छ ।

अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्रको निर्माण पक्षले बुधबार एक पोस्टर सार्वजनिक गर्दै आगामी असोज २ गतेलाई नयाँ प्रदर्शन मिति तोकेको हो ।

यसअघि आगामी साउन १ गतेबाट प्रदर्शन गर्ने तयारी गरिए पनि वितरकसँगको आपसी छलफलपछि प्रदर्शन मिति असोज २ गतेका लागि सारिएको निर्माण टिमले जनाएको छ ।

सार्वजनिक गरिएको नयाँ पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य (मुन्नी)लाई रोमान्टिक अन्दाजमा प्रस्तुत गरिएको छ । पोस्टरमा देखिएको उनीहरूको प्रेमिल भावले चलचित्र प्रेमकथामा आधारित रहेको अनुमान लगाउन सकिन्छ ।

नामैबाट ‘कार्की साइँला’ नामका एक भरियाको जीवनी र सङ्घर्षको वरिपरि घुम्ने यस चलचित्रको छायाङ्कन पूर्वी नेपालका रमणीय स्थलहरू धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरा लगायतका क्षेत्रमा गरिएको छ ।

राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको यस चलचित्रमा जितु र प्रियनाका साथै सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारको अभिनय छ ।

कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताका रूपमा रहेका छन् । त्यस्तै चलचित्रको कार्यकारी निर्मातामा अनन्त राई रहेका छन् ।

सबिन अधिकारी र शङ्कर धितालले लेखेको यस चलचित्रमा मुख्य सहायक निर्देशक रोजल थापाको छ । डम्बर राईले छायाङ्कन गरेको चलचित्रमा किरण दाहालको द्वन्द्व, दिप्सन लिम्बुको सङ्गीत र सिबी भण्डारीको प्रडक्सन व्यवस्थापन रहेको छ ।

यस चलचित्रलाई काठमाडौँ उपत्यकाभित्र काफिया फिल्मस्का तर्फबाट गोविन्द शाहीले र उपत्यकाबाहिर कुबेर फिल्मस्ले बजार व्यवस्थापन गर्ने जिम्मा लिएका छन् ।


ताजा खबर