टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत ‘भटभटे माइला’को चरित्रबाट दर्शकमाझ अत्यन्त लोकप्रिय बनेका कमेडियन बेगम नेपाली अब पहिलो पटक ठूलो पर्दामा नायकका रूपमा देखिने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका हुन्।
वर्षौंदेखि टेलिभिजन, डिजिटल माध्यम र विभिन्न मञ्चमार्फत आफ्नो विशिष्ट हास्य प्रस्तुति दिँदै लाखौँ दर्शकको मन जितेका बेगम नेपालीका लागि यो चलचित्र अभिनय यात्राको नयाँ अध्याय बन्नेछ। सानो पर्दामा ‘भटभटे माइला’ का रूपमा स्थापित उनी पहिलो पटक मुख्य नायकको भूमिकामा देखिन लागेका कारण निकै उत्साहित रहेका छन् ।
अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने तयारी गरिएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्।
निर्माता सापकोटाका अनुसार चलचित्रमा नेपाली मनोरञ्जन क्षेत्रका चर्चित र लोकप्रिय कलाकारहरूको सशक्त उपस्थिति रहनेछ। चलचित्रका गीत चर्चित गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायाङ्कनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्।
यसअघि नै चलचित्रका लागि चर्चित गायक पशुपति शर्मा, गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त, कलाकार समिया कार्की तथा लोकप्रिय कमेडियन प्रभात लामा मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्।
पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ ले हाँसो, व्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ पस्किने लक्ष्य लिएको निर्देशक अमरदीप सापकोटाले बताएका छन्।








