चलचित्र ‘आशा’को छायांकन सुरू भएको छ । उडान स्टुडियोको प्रस्तुतीमा बन्ने यो सिनेमा एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको हो ।
राजिव गुरुङको निर्देशनमा निर्माण हुने चलचित्रको पहिलो दिनको छायांकन काठमाडौँ उपत्यकामा गरिएको छ । केही दिन उपत्यकामा छायांकन भएपछि नमोबुद्ध र धुलिखेल आसपासमा सिनेमाको बाँकी छायाँकन हुने निर्मात्री शर्मिला थापाले जानकारी दिईन् ।
‘हामी योजना अनुसार नै छायांकनमा निस्किएका छौँ । साउन महिनाभरमा फिल्मको छायांकन सकिने तयारी अनुरुप सुरुआत गरेका छौँ । हामी नेपालीपन बोकेको कथालाई प्राविधिकरुपमा अब्बल बनाएर दर्शक माँझ ल्याउने छौँ’, उनले भनिन् ।
छायांकनको पहिलो दिन अभिनेता शुशांक मैनाली र बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारीले शट दिएका थिए । चलचित्रमा शुशांकसँगै महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी लगायतका कलाकारको अभिनय रहनेछ ।
करिब आठ महिना अघि प्रदर्शनमा आएको चलचित्र ‘परान’पछि महेश र अन्जनाको यो दोस्रो सहकार्य हो ।
निर्देशकसँगै कथाकार रहेका गुरुङले चलचित्र ‘आशा’लाई मनदेखि नै तयार गर्न लागिएको बताउँदै सिनेमाले मनोरन्जनसँगै दिने संदेश महत्वपूर्ण रहेको बताए ।
‘यो कथालाई पर्दामार्फत दर्शक हुँदै परिवारसम्म लैजानु पर्छ भन्ने लागेर नै फिल्ममा ल्याउँदैछौँ । एउटा मनछुने पारिवारिक कथामा फिल्म तयार हुँदैछ’, उनले भने ।
चलचित्रमा सह लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् ।
रामकुमार श्रेष्ठ मुख्य सहायक निर्देशक रहेको चलचित्रका सहायक निर्देशक शान्ति तामाङ, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) रहेका छन् ।
यो चलचित्र आगामी माघेसंक्रान्तिलाई लक्षित गर्दै माघ १ गते प्रदर्शन हुनेछ ।








