काठमाडौँ । सुदर्शन थापाको निर्देशनमा निर्माण भएको चलचित्र ‘शुभ विवाह’को सम्पूर्ण छायांकन सकिएको छ । निर्माण टिमले ४० दिनमा छायांकन पूरा गरेको हो ।
४० दिनअघि पोखरामा क्यामेरा पूजाअर्चना गर्दै छायांकन सुरु गरिएको चलचित्रको निर्धारित समयभन्दा अगावै सम्पन्न भएको निर्देशक थापाले जानकारी दिएका छन् ।
निर्धारित सेड्युलअनुसार अझै पाँच दिन काम गर्न बाँकी रहे पनि कलाकार तथा प्राविधिकको निरन्तर मेहनतका कारण सिनेमाको छायांकन पाँच दिनअघि नै सकिएको निर्देशक थापाले जानकारी दिए । साथै, लामो समयसम्म सेटमा केन्द्रित भएर काम गर्दा निर्धारित समयभन्दा अगावै सुटिङ प्याकअप गर्न सम्भव भएको उनको भनाइ छ ।
प्रियदर्शन फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा छन् । प्रदीप र सनिशासँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईं, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय रहेको छ ।
‘शुभ विवाह’ निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काको पुनः सहकार्य पनि हो । यी दुईले यसअघि ‘प्रेम गीत’मा सहकार्य गरेका थिए । त्यसैले ‘शुभ विवाह’लाई उनीहरूको पुरानो सहकार्यपछि आएको अर्को महत्वपूर्ण प्रोजेक्टका रूपमा समेत हेरिएको छ ।
सुप्रिया कटुवालको लगानी रहेको चलचित्रमा साम भुजेल कार्यकारी निर्माता छन् । चलचित्रको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकको छ ।
राजेश श्रेष्ठ (डीओपी) रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन, अर्जुन पोखरेलको संगीत, आरती सिंहले पाश्र्व संगीत, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, विक्रम स्वारको नृत्य निर्देशन, साहिल खानको ट्रेलर सम्पादन रहने छ ।
छायांकनको काम सकिएसँगै चलचित्रको पोस्ट प्रोडक्सनको काम सुरु गरिएको छ । निर्माण टिमले ‘शुभ विवाह’लाई आगामी फागुन २१ गतेदेखि अलनेपाल प्रदर्शनमा ल्याउने तयारी गरेको छ ।








