‘आ बाट आमा २’ को बुटवल कन्सर्टमा झुमे हजारौँ दर्शक, निर्देशक पन्तले भने- ‘अथाह माया पायौँ’

काठमाडौं । असोज ३० गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘आ बाट आमा–२’ को प्रचारप्रसारलाई तीव्र पारिएको छ ।

प्रचारप्रसारकै सिलसिलामा अभिनेत्री विपना थापा, अभिनेता पल शाह, मलिका महतलगायत कलाकारको टोली बुटवल पुगेको छ । टोलीले त्यहाँ कन्सर्ट गर्नुका साथै पत्रकारसँग भेटघाट र अन्तरक्रिया गरेको छ ।

बुटवलको गोलपार्कमा आयोजित कन्सर्टमा कलाकारको प्रस्तुति हेर्न बिहानैदेखि हजारौँ दर्शक उपस्थित भएका थिए ।

कन्सर्टमा फिल्मका कलाकार विपना थापा, पल शाह, आकाश श्रेष्ठ, मलिका महत, निकिता आचार्य र रिस्ता गुरुङसँगै गायक बाबुल गिरी तथा गायिका गंगा सोनाम र जुरीको सहभागिता थियो ।

फिल्मका गायक, संगीतकार तथा गीतकार बाबुल गिरी र गायिका गंगा सोनामले फिल्मकै गीत प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए ।

पल शाह, मलिका महत, विपना थापा, निकिता आचार्य, आकाश श्रेष्ठ र रिस्ता गुरुङको नृत्यले पनि दर्शकको ध्यान खिचेको थियो । बिहीबार सार्वजनिक भएको फिल्मको दसैँ गीतमा कलाकारले नृत्य प्रस्तुत गर्दा दर्शकको हुटिङले माहोल थप उत्साहपूर्ण बनेको थियो ।

निर्देशक चन्द्र पन्तले फिल्मको प्रचारप्रसारलाई तीव्रता दिन कन्सर्ट आयोजना गरिएको बताए । उनले दर्शकबाट अथाह माया पाइरहेको पनि सुनाए ।

कन्सर्टमा सहभागी हुनुअघि टोलीले पत्रकारसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।


ताजा खबर