‘द प्रोफेसनल गाइज’को प्रचारमा नयाँ प्रयोग, सार्वजनिक गर्‍यो एम.ए.डी. कथा

काठमाडौं । नेपाली चलचित्र ‘द प्रोफेसनल गाइज’ले आफ्नो प्रचार अभियानलाई परम्परागत शैलीभन्दा फरक ढंगले अगाडि बढाएको छ । गत साता चलचित्रको शीर्षक सार्वजनिक गरेको निर्माण टिमले अहिले तीन फिल्ममेकर मार्टिन भण्डारी, अमन श्रेष्ठ र डार्विन श्रेष्ठको सिर्जनात्मक यात्रा समेटिएको विशेष प्रमोशनल स्किट सार्वजनिक गरेको छ ।

मार्टिन, अमन र डार्विनको नामबाट बनेको ‘एम.ए.डी.’ पहिचानलाई केन्द्रमा राखेर तयार पारिएको उक्त स्किट ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । मनोरञ्जनात्मक तथा हास्य शैलीमा तयार पारिएको स्किटमा तीन फिल्ममेकरको भेट, उनीहरूबीचको सहकार्य र ‘द प्रोफेसनल गाइज’ निर्माणको सुरुवात कसरी भयो भन्ने विषयलाई प्रस्तुत गरिएको छ ।

चलचित्रको शीर्षक सार्वजनिक गरेपछि निर्माण टिमले दर्शकमाझ आफ्नो परिचय स्थापित गर्न यो नयाँ शैली अपनाएको हो। सामान्यतया पोस्टर, टिजर, गीत तथा ट्रेलरमार्फत प्रचार गरिने नेपाली चलचित्रको बजारमा निर्माण टिमले आफ्नै यात्रालाई मनोरञ्जनको माध्यम बनाएर दर्शकमाझ पुग्ने प्रयास गरेको छ।

‘म्याड्ली प्रोफेसनल, प्रोफेसनली म्याड’ भन्ने नारासहित अघि बढिरहेको एमएडी टोलीले आफ्नो पहिचानलाई समेत प्रचार अभियानको हिस्सा बनाएको छ । तीन फिल्ममेकरको नामबाट बनेको यो पहिचानले उनीहरूको आपसी सम्बन्ध, काम गर्ने शैली र चलचित्र निर्माणप्रतिको दृष्टिकोणलाई रमाइलो ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ ।

चलचित्रको प्रचारका लागि तयार पारिएको स्किट केवल फिल्मको जानकारी दिने सामग्रीमा सीमित छैन । यसले चलचित्र निर्माणको पृष्ठभूमि र त्यसमा संलग्न सिर्जनाकर्मीहरूको सहकार्यलाई समेत दर्शकमाझ ल्याउने उद्देश्य राखेको देखिन्छ । यसबाट दर्शकले पर्दामा आउने चलचित्रसँगै त्यसको पछाडि रहेका फिल्ममेकरहरूको यात्रा बुझ्ने अवसर पाउनेछन् ।

‘द प्रोफेसनल गाइज’मा मार्टिन भण्डारी र डार्विन श्रेष्ठ लेखन तथा निर्देशनमा संलग्न छन् । अमन श्रेष्ठ भने निर्माता, सहलेखक, क्रिएटिभ डाइरेक्टर तथा मुख्य अभिनेताका रूपमा चलचित्रसँग जोडिएका छन् । यसरी तीनै जनाले चलचित्रको सिर्जनात्मक पक्षमा फरक–फरक जिम्मेवारी सम्हालेका छन् ।

जेकेएस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको शीर्षक घोषणापछि सार्वजनिक गरिएको यो स्किटले आगामी प्रचार सामग्रीप्रति दर्शकको चासो बढाउने अपेक्षा निर्माण टिमको छ । चलचित्रको कथावस्तु र प्रदर्शन मितिबारे थप विवरण सार्वजनिक हुन बाँकी रहे पनि अहिले भने निर्माण टिमले आफ्नो पहिचान र सहकार्यको कथालाई प्राथमिकतामा राखेको छ ।


ताजा खबर