वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ।
उनको ७७ बर्षको उमेरमा सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा निधन भएको हो । उनको रातको १२ः३० मा निधन भएको वुझिएको छ ।
बिहिबार दिउँसो केही असहज भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । गायक वैद्य लामो समयदेखि मधुमेह रोगबाट पीडित रहेका थिए ।
नेपाली गायन क्षेत्रमा गायक वैद्यले थुप्रै सुपरहिट गीत दिएका छन् । उनले ‘सपना भुलाई सारा, आँसु लिएर जाउ, मेरो आँसुमा नहाँसे, नेपाल मेरो उपहार भो’ लगायतका सुपरहिट गीत नेपाली साङ्गीतिक क्षेत्रमा दिएका छन् ।
वैद्यले हालै गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्राप्त गरेका थिए।
१२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका योगेश थाहै नपाई रेडियो नेपाल पुगेका थिए। इन्द्रनारायण मानन्धरले मोटरसाइकलमा रेडियो नेपाल पुर्याएर वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा आयोग दिएर प्रथम भएका थिए योगेश।
करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए। उनले बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाट पनि फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेका थिए।
गायक वैद्यको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । गायक वैद्यको एक छोरा र दुई छोरी छन् ।