एसिड आक्रमण महिला विरुद्धको हिंसाका विभिन्न स्वरूपहरूमध्ये एक हो । यस्तो अपराधमा महिला वा पुरुष जोकोही पीडित हुनसक्छ । महिला विरुद्धका अन्य हिंसाभन्दा एसिड हिंसाको प्रकृति फरक देखिन्छ । यसमा आक्रमणकारीको मुख्य उद्देश्य महिलालाई कुरूप पार्ने हो । महिलामाथि हुने एसिड आक्रमण परम्परागत पितृसत्तात्मक सोचको उपज हो । यस सोचका कारण महिलालाई व्यक्ति होइन, सामग्रीमा रूपमा लिइन्छ ।
नेपालमा भएका घटनाहरूको अध्ययन गर्दा किशोरी तथा युवतीहरूप्रति लक्षित गरी एसिड आक्रमण गर्ने गरेको पाइन्छ । यो समस्याबाट विशेषगरी विद्यालय तथा विश्वविद्यालयमा पढ्ने किशोरी बढी आतंकित छन् ।
यस्तै एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर फिल्म ‘नमेटिने घाउ’ बन्ने भएको छ । अभिनेता रमित ढुंगानाले बायोपिक फिल्मका रुपमा ‘नमेटिने घाउ’ बनाउने घोषणा गरेका हुन् । यसै फिल्मबाट उनले निर्देशनको यात्रा समेत सुरु गर्दै छन्।
रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन यो फिल्मलाई एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाउन लागिएको बताइएको छ। फिल्ममा शिवम् अधिकारीको कथा, ओम सुनारको संगीत रहेको छ ।
रमितले फिल्ममा अधिकांश नयाँ अनुहारहरुलाई लिएर काम गर्ने योजना बनाएका छन् । फिल्ममा सुरवीर पण्डित र रामचन्द्र अधिकारी पुराना अनुहार रहने छन् भने, मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरु हुने छन्। जसमा, सिम्रन खड्का, विमल पुरी, सुप्रज्ञा शर्मा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात ठकुरी हुने छन्।
यस्तै, भिक्टिमहरुको बायोपिक फिल्मका रुपमा लिदै प्रोजेक्ट अघि बढाएर एसिड आक्रमणका घटना भएका ठाउँहरुमा छायांकन सुरु गर्ने तयारी बनाएका छन् । फिल्मको माघ १४ गते मुहुर्त गरेसँगै कठमाडौं, भक्तपुर, बनेपा, पनौती, नवलपुर, पोखरा, वीरगञ्ज र रौतहटको चन्द्रपुरमा छायांकन गर्ने तयारी गरेका छन् ।