‘हात्तीछाप’लाई लिएर उत्साहित हुँदै दया र उपासना भन्छन्– ‘फिल्मको कथावस्तु शक्तिशाली र दामी बनेको छ’

माघ २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारमा देखिएका अभिनेता दयाहाङ राई फिल्मलाई लिएर निकै उत्साहित देखिएका छन् । 

अमेरिकाबाट फर्किए लगतै उनले पत्रकारहरूसँग कुराकानी गर्दै यो फिल्मको कथावस्तु आफूलाई निकै मन परेको र फिल्मबाट आफू सन्तुष्ट रहेको बताए।

दयाले भने, ‘पहिलो कुरा त यो फिल्मको कथावस्तु निकै नै राम्रो छ । दोस्रो कुरा निर्देशक सिमोस सुनुवारसँग लामो समयदेखि काम गर्ने विषयमा छलफल भइरहेको थियो । पहिले पनि काम गर्ने भनेर गर्न पाइएन । यसैले, यस पटक सिमोसको निर्देशनमा काम गर्न म उत्साहित भएको हुँ ।’

‘यसको मुख्य उद्देश्य त व्यावसायिकता नै हो । तर, पनि फिल्मले समाजका विभिन्न विषयवस्तुलाई समेटेको छ । यो फिल्म दामी बनेको छ । यसैले, म उत्साहित छु ।’ दयाले भने ।

फिल्मले पैसाको कथालाई पनि उठान गरेको दयाले बताए । यो फिल्मले आम नेपालीहरूको कथालाई जोड्ने उनको भनाई छ । दयाले, यो फिल्म लामो समयपछि पनि दर्शकले सम्झन सक्ने दाबी गरे ।

फिल्मको ट्रेलरमा भूकम्पको दृश्य पनि समावेश गरिएको छ । यो फिल्मले भूकम्पको कथा नै भन्न खोजेको हो या अरू के हो भन्ने प्रश्नमा दयाले भने–‘त्यो एउटा पार्ट मात्र हो । यसको स्टोरीको संसार छुट्टै छ । भूकम्पले फिल्मको कथा संसारमा एउटा नयाँ समस्या थप्छ ।’

दयासँगै रहेकी नायिका उपासना सिंह ठकुरीले पनि यसको कथावस्तु शक्तिशाली रहेको बताइन् । फिल्म भित्रका दयाहाङ कस्ता प्रेमी हुन् भन्ने प्रश्नमा उपासनाले भनिन्, ‘फिल्म भित्र दयाहाङ अम्बरेको पात्रमा हुनुहुन्छ । जसले, आफ्नी प्रेमिकालाई मात्र नभएर सिंगो समाज र देशको बारेमा सोच्छ । जसको मनमा कुनै पनि स्वार्थ छैन ।’

मिडियाकर्मीसँग कुरा गर्दै उपासनाले भनिन्–‘यो फिल्मले नेपाली दर्शकलाई भावनामा जोड्छ । यसलाई व्यावसायिक फिल्मको रूपमा मात्र हेर्नु हुँदैन । सबै नेपालीहरूले भोगेको विषयलाई लिएर कथा बनाइएको छ ।’

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ ।

कार्तिकको २४ गतेबाट रिलिजमा आएको फिल्म ‘दिमाग खराब’पछि कुनै पनि नेपाली फिल्मले व्यापारिक रूपमा सफलता हात पारेका छैनन् । यसैले, ‘हात्तीछाप’बाटै बक्स अफिसलाई चलायमान बनाउनुपर्ने चुनौती पनि दयाको काँधमा छ । यस पटक, ‘कबड्डी र २ नम्बरी’का सहयात्री सौगात मल्ल पनि उनको साथमा भएकाले उनलाई केही सहज हुने पक्का छ । 


ताजा खबर

No comments to show.