एन्जिला तुम्बापोको ‘अन्जिला’को रिलिज मिती सार्वजनिक

महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर निर्माण गरिएको चलचित्र ‘अन्जिला’को रिलिज डेट सार्वजनिक भएको छ। बिहीवार निर्देशक मिलन चाम्सले २०८१ सालको माघ महिनालाई रिलिज डेट तोकेको हो। अब चलचित्र २०८१ सालको माघ ११ गते सार्वजनिक प्रदर्शन हुनेछ।

महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेर निर्माण गरिएको यो चलचित्रको छायांकन उनकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौँमा गरिएको हो । यो चलचित्रमा अञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रमा एन्जिलाका साथै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजयबराल, हरि खड्का, मन्जु श्रेष्ठ, बेदना राई, सिध्दार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, बिष्णु मोक्तानको पनि अभिनय छ । चलचित्रमा निर्माता प्रेम कुमार श्रेष्ठको पनि मुख्य भूमिका छ ।

एन्जिला तुम्बापोको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको सङ्घर्ष र सफलताको कथालाई चलचित्रमा जोड दिएको निर्देशक चाम्सले जानकारी दिए । सफल खेलाडी बन्नु अगाडि अञ्जिलाले धेरै दुःखहरू भोगेको र इच्छाशक्ति भएदेखिन् असम्भव भन्ने कुरा नहुने सन्देश चलचित्रले दिने चाम्सले बताए । निर्देशक चाम्सले यो चलचित्र ठ्याक्कै अञ्जिलाको बायोपिक भने नभएको बताए ।

निर्माता श्रेष्ठले अञ्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथा चलचित्रमा देखिने बताए । १४ वर्षदेखि अञ्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा-दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर अञ्जिलालाई मोरङबाट काठमाडौँ ल्याएका थिए । श्रेष्ठले अञ्जिलाको सङ्घर्ष र सफलताको कथाले धेरैलाई ‘इन्स्पायर’ गर्छ भन्ने लागेर चलचित्र बनाएको बताए ।

सुदीप बरालको डिओपी रहेको यस चलचित्रका सम्पादक मिलन श्रेष्ठ हुन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रका विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्री यसका निर्माण नियन्त्रक हुन् ।

निर्देशक मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्। यो चलचित्र २०२४ जुलाईमा युके हङकङमा भब्य प्रिमियर संगै अन्य मूलुकमा पनी चलचित्र प्रदर्शन गरिने चाम्स बताउछन्।


ताजा खबर