‘तेल भिसा’ खेल्न अमेरिका पुगे विपिन कार्की : ऋचाले गरिन स्वागत 

लामो समयको अन्तरालमा शंकर घिमिरेले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘तेल भिसा’को सुटिङका लागि अभिनेता विपिन कार्की अमेरिका पुगेका छन् ।

नेपाली समय अनुसार शुक्रबार राति ८ बजे निर्देशक घिमिरे तथा चिफ एडि मछिन्द्र योङगा सहित विपिन अमेरिकाको मेरिल्याण्ड राज्यमा उत्रिएका हुन । विपिनको यो अमेरिका यात्रा पहिलो पटक हो । उनीहरूलाई नेपालबाट बिदाइ गर्न फिल्मका निर्माता टिकाराम बुढाथोकी पुगेका थिए ।

टिकाराम हाल बजारमा निकै चर्चा बटुलिरहेको श्रीकेश हेयर आयलका प्रोप्राइटर हुन जो यो फिल्म निर्माण गर्ने मुख्य कम्पनी वेल डन क्रिएसनसँग सहकार्य गर्दै नेपाली फिल्म नगरीमा निर्माताको रूपमा प्रवेश गर्दैछन् ।

उता अमेरिकामा विपिनलाई स्वागत गर्न फिल्मकी कार्यकारी निर्माता समेत रहेकी अभिनेत्री ऋचा घिमिरे पुगेकी थिइन । ऋचाले यो फिल्ममा एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै छिन । फिल्ममा विपिन दोहोरो भूमिकामा देखिनेछन् । उनको अपोजिट गौरी मल्ल र वर्षा राउत दुवै जना देखिनेछन् ।

सुटिङका लागि वर्षा केही दिनमा र गौरी सम्भवतः अर्को हप्ता अमेरिका पुग्दैछन । सिनेमाटोग्राफर सुसन प्रजापति भने केही दिन अघि नै बाल्टिमोर पुगिसकेका छन् । निर्माण युनिटले दिएको जानकारी अनुसार अमेरिकामा बसोबास गर्ने विभिन्न देशका कलाकारहरूको समेत सहभागितामा तेल भिसाको छायाँकन वैशाख २५ गतेबाट एक महिना सम्म चल्नेछ ।

मेरिल्याण्ड राज्यका विभिन्न सहरमा ७० प्रतिशत फिल्म खिचेर युनिट बाँकीको छायाँकन पूरा गर्न नेपाल फर्किएर पूर्वी चितवन पुग्नेछ ।


ताजा खबर