‘ऐरी’मा ‘जवान’ अभिनेता सांगेले काम गर्ने पक्का

चर्चित कलाकार सांगे सेल्ट्रिमले फिल्म ‘ऐरी’मा काम गर्ने पक्का भएको छ । सांगे र निर्देशक जीवन थापाबीच बुधबार कागजी संझौता भएको हो । फिल्मका लागि संझौता गर्न सांगे मंगलबार नेपाल आएका थिए ।

नायक प्रदीप खड्काको मुख्य भूमिका रहने यो महत्वकांक्षी फिल्ममा सांगेको भूमिका के हुने हो भन्ने विषयमा निर्माणपक्षले केही पनि खुलाएको छैन ।
तर, यो फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको सांगेले बताएका छन् । फिल्ममा अनुबन्धित भएपछि ‘जवान’ अभिनेताले भने–‘मैले यो फिल्ममा काम गर्नुको मुख्य कारण यसको कथावस्तु हो । यसको कथावस्तु ऐतिहासिक छ । साथमा, मलाई सधैं नै योद्धाको कथामा काम गर्न मन थियो । यसैले, यो फिल्मबाट मेरो सपना पुरा हुँदैछ ।’

बलिउड र नेपाली फिल्म क्षेत्रको सहकार्य हुन लागेकाले पनि आफू यो फिल्ममा काम गर्न उत्साहित भएको सांगेले बताएका छन् ।

सांगेले नेपाल र भुटानको सम्बन्धलाई अझै उचाइमा लैजानका लागि पनि आफूले यो फिल्म साइन गरेको बताए । साथै, उनले फिल्मका निर्देशक जीवन थापा र नायक प्रदीप खड्का प्रतिभाशाली भएकाले पनि काम गर्न उत्साहित भएको तर्क गरे ।

यो फिल्मको हाल प्रि प्रोडक्शनको काम धमाधम चलिरहेको छ । यो फिल्मलाई नेपाली, हिन्दीका साथै दक्षिण भारतीय भाषामा पनि डब गरिनेछ । फिल्ममा सुवास काले, प्रशान्त कुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माण रहनेछ ।

फिल्मको छायांकन केही महिनापछि सुरु हुनेछ । निर्माणपक्षले अब कलाकारहरूलाई अनुबन्धित गर्ने कामलाई अगाडि बढाएको बताए ।


ताजा खबर