प्रेम कथासँगै ‘फर्की फर्की’मा पहिलोपटक ‘टाइम लुप’को प्रयोग

जेठ १० गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘फर्की फर्की’ मा प्रेम कथासँगै ‘टाइम लुप’ को प्रयोग गरिएको छ । सम्भवतः नेपाली फिल्ममा टाइम लुप पहिलोपटक प्रयोग गरिएको हो । किनकि यसअगाडि यस्ता प्रयोग फिल्ममा गरिएको छैन ।

यो फिल्मका निर्देशक तथा लेखक सुयोग गुरुङले प्रेम कथानकलाई ‘टाइप लुप’ मा जोड्दा दर्शकले नयाँपन अनुभूति गर्न पाउने बताए । उनले भने, “हामीले नयाँ विधालाई ल्याएनौ भने एकै किसिमको मात्र चलचित्र बन्छ । त्यही कारण म र मेरो समूहले नयाँ प्रयोग गर्ने कोसिस गरेका हौँ । टाइम ट्राभल खर्चिलो हुने भएकाले टाइम लुपको प्रयोग फिल्ममा गरिएको छ ।”

‘टाइम ट्राभल’ मा विशेषतः पात्र एक समयबाट अर्को समयमा पुग्ने गर्छ । प्राविधिक दृष्टिले अगाडि वा पछाडिको समय देखाउनु निकै खर्चिलो मानिन्छ । ‘टाइम लुप’ मा भने पात्र एकै समयमा घुमिरहन्छ । एकै दृश्यलाई पात्रको मनोविज्ञानअनुसार चित्रण गर्ने भएकाले त्यसमा खर्चभन्दा धेरै रचनात्मकता चाहिन्छ । फिल्ममा माधव सिंह बस्नेतको भूमिकामा अभिनेता अनमोल केसी देखेका छन् ।

त्यस्तै, नायक अनमोल केसीले यो प्रेम कथानक फिल्म युवाका लागि आकर्षण बन्ने विश्वास व्यक्त गरे । उनले भने, “मेरो पात्रले गल्ती गरिरहँदा त्यो समयलाई पार गर्न सक्दैन । त्यही समयमा ऊ फर्की फर्की आइपुग्छ । त्यो एक किसिमको शक्ति हो । टाइम लुपका कारण फिल्मको पात्रलाई प्रभाव पारेपछि यसले झनै रोचक बनाउँछ ।”

यो उनको दसौँ फिल्म हो । उनले अधिकांश प्रेम कथानक फिल्ममै अभिनय गरेका छन् । त्यसकारण यसपटक भिन्न देखाउन केसी समहत भए । “मैले अभिनय गर्न थालेको दश वर्ष पुगेको छ । यो मेरो लागि सुरुआत नै हो । आफ्नै विधामा रहेर अबको पुस्तालाई नयाँपन दिन खोजेका हौँ”, उनले भने।

‘छड्के २’ असफल भएपछि सामाजिक सञ्जालमार्फत दर्शकसँग माफी माग्दै आगामी फिल्ममार्फत पुनः सुरुआत हुने घोषणा गरेका थिए । यस फिल्ममा उनले अभिनेत्री जसिता गुरुङसँग ‘स्क्रिन शेयर’ गरेका छन् । अभिनेत्री गुरुङले फिल्मले युवापुस्ताको प्रेम, आकर्षण र समस्यालाई चित्रण गरेको बताइन् । “यो फिल्ममा अहिलेको पुस्ताको सम्बन्धमा देखाइने विषय देखाइएको छ”, उनले भनिन्, “यसले अभिभावकलाई नयाँ पुस्ता बुझ्न मद्दत पुग्ने छभने युवायुवतीलाई एकआपसको समस्या बुझ्न र सुल्झाउन मद्दत पुग्छ ।”

नरेन्द्र मैनालीले छायाङ्कन, सुरेन्द्र पौडेलले सम्पादन, अष्ट महर्जनले द्वन्द्व निर्देशन, रोमन बज्राचार्य र नरेन लिम्बूको सङ्गीत रहेको यो फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका छन् । यो फिल्ममा अभिनेता केसी र अभिनेत्री गुरुङसँगै रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायतका कलाकारको अभिनय रहेको छ ।


ताजा खबर

No comments to show.