तीन दिनमा ‘बेहुली फ्रम मेघौली’को २ करोड २५ लाख ग्रस

प्रदर्शनरत फिल्म ‘बेहुली फ्रम मेघौली’ ले बक्स अफिसमा उत्साहजनक सुरुवात गर्दै तीन दिनभित्र २ करोड २५ लाख भन्दा माथिको व्यापार गरेको छ।

असोज १७ गतेदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दिन राम्रो व्यापार गरेपछि शनिवार देशभरका सिनेमा हलहरूमा आक्रामक व्यापार गरेको थियो। उत्कृष्ट ‘वर्ड अफ माउथ’को कारण फिल्मले सकारात्मक प्रतिक्रिया पाउँदै आएको छ, जसले गर्दा आइतबार पनि व्यापार राम्रो रह्यो।

फिल्म हेर्ने दर्शकको उल्यख्य साथ पाएसँगै फिल्म टिम विभिन्न सिनेमा हलमा पुगेर दर्शकहरूसँग अन्तक्र्रिया गरेको थियो। हलमा आएका दर्शकहरूले फिल्मकी मुख्य अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्कालाई आफ्नै कथा प्रस्तुत गरेकोमा धन्यवाद दिंदै भावुक भएर अँगालो हालेका थिए।

फिल्मले दर्शकको राम्रो साथ पाएपछि मुख्य अभिनेता तथा निर्माता निश्चल बस्नेतले सबैलाई धन्यवाद दिंदै, दसैंको माहोलमा परिवारसँग ‘बेहुली फ्रम मेघौली’ हेरेर उत्सव मनाउन आग्रह गरेका छन्।

फिल्मले काठमाडौं उपत्यकाका साथै नारायणगढ, बुटवल, नेपालगञ्ज, इटहरी, धरान, विराटनगर, दमक, बिर्तामोड, पोखरा लगायतका प्रमुख सहरहरूमा पनि राम्रो व्यापार गरिरहेको छ। फिल्मका वितरक अशोक शर्माका अनुसार ‘बेहुली फ्रम मेघौली’ले दर्शकको राम्रो साथ पाइरहेको छ र दसैं बिदाको समयको फाइदा उठाउँदै आगामी दिनहरूमा पनि व्यापारमा वृद्धि हुने अपेक्षा गरिएको छ।

फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीले अभिनय गरेका छन्।

फिल्मको लेखन तथा निर्देशन सजन काफ्ले र आकाश बरालले गरेका हुन्। फिल्मको निर्माणमा निश्चल बस्नेतले स्वस्तिमा खड्कालाई सघाएका छन् भने कार्यकारी निर्माता फिरोज खड्का र शङ्कर पाण्डे हुन्।


ताजा खबर

No comments to show.