विजय बराल: ‘पूर्ण बहादुरको सारङ्गी’पछि नयाँ उचाइमा करिअर, तर अझै नाटकको मोह छाडेका छैनन्

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले अभिनेता विजय बरालको करिअरमा नयाँ उचाइ थपिदिएको छ। नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी कमाई गर्ने यो फिल्मका मुख्य कलाकारका रूपमा विजयको नाम थप चर्चित बनेको छ। फिल्म सफलतापछि उनलाई लिएर काम गर्न चाहने निर्माताहरूको संख्यामा वृद्धि भएको छ।

तर, विजय बराल भने फिल्म अफर नआए पनि आफूलाई कुनै फरक नपर्ने बताउँछन्। हाल मण्डला थिएटरमा मञ्चन हुन लागेको नाटक ‘हरि हजुरबा’को विषयमा आयोजित पत्रकार सम्मेलनमा विजयले भने, “म त जिरोबाट हिँडेको मान्छे हो। फिल्म नै नआए पनि मलाई मतलब छैन। रेकर्ड ब्रेक गरिसकियो, अब नखेले पनि के भयो र? नाटक नै गर्दा पनि चलिहाल्छ।”

“अब म केवल कमेडियन होइन”

नाटकमा काम गर्नुको कारण खुलाउँदै उनले भने, “अब म केवल कमेडियन होइन भनेर देखाउन चाहन्छु। मानिस भावुक हुन्छ। रमाइलो गर्ने मान्छे पनि कहिलेकाहीँ रुन्छ। पहिले मलाई पर्दामा देख्ने बित्तिकै हँसाउने पात्र ठानिन्थ्यो। तर, म त्यसैमा सीमित छैन भन्ने देखाउन नाटक रोजेको हुँ।”

फिल्ममा पारिश्रमिकको चर्चा

चलचित्रमा सफलता प्राप्त गरे पनि विजयले नाटकलाई कहिल्यै छाडेका छैनन्। उनले नाटकबाट सीमित पारिश्रमिक आउने बताउँदै भने, “नाटकबाट २५ देखि ४० हजारसम्म पारिश्रमिक आउँछ। त्यो हाम्रो चिया खर्च हो। तर, नाटक मेरो लागि आर्थिकभन्दा बढी आत्मिक सन्तोषको माध्यम हो।”

यसैगरी, ‘पूर्णबहादुरको सारङ्गी’पछि एक फिल्मका लागि तपाईंको रेट ३० देखि ४० लाख पुग्यो रे भन्ने प्रश्नमा उनले यसबारे उनले कुनै प्रतिक्रिया नदिएको स्पष्ट पारे। “मैले कतै बोलेको छैन। फिल्मले धेरै कमाएपछि मेरो पारिश्रमिक बढी भएको चर्चा होला। तर, म स्क्रिप्ट पढेर निर्णय लिन्छु। धेरै माग्ने सोच छैन,” उनले भने।

करिअरमा आरोह-अवरोहलाई स्वीकार्ने तयारी

आफ्नो करिअरमा आरोह-अवरोह स्वाभाविक रहेको बताउँदै विजयले भने, “कुनै उचाइमा पुगेपछि त्यहाँ शीतलता हुन्छ, जाडो हुन्छ। झर्ने हो भने फेरि उकालो चढ्न सक्ने विश्वास छ। म झरे भने पनि पुनः उचाइमा जान सक्ने क्षमता राख्छु।”

विजय बरालको यो अभिव्यक्ति नाटक र चलचित्रप्रतिको उनको गहिरो लगाव र दृढ आत्मविश्वास झल्काउँछ। “पूर्ण बहादुरको सारङ्गी” पछि आएको उनको सफलता र चर्चासँगै उनले कलाकारितामा स्थापित मूल्य र मान्यतालाई झल्काउने नयाँ कोसेढुंगा थप्ने अपेक्षा गरिएको छ।


ताजा खबर

No comments to show.