सार्वजनिक भएको दुई घण्टामै ट्रेन्डिङमा ‘लाज शरणम्’को गीत

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको चलचित्र ‘लाज शरणम्’ को गीत ‘नेपाल हासेको…’ सार्वजनिक भएको दुई घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको छ।

महाशिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज हुन लागेको ‘लाज शरणम्’ चलचित्रको टिमले उक्त गीत सार्वजनिक गरेको हो। बालेन शाहको आफ्नै युट्युब च्यानलबाट रिलिज भएको गीत युट्युबको म्युजिक ट्रेन्डिङ २५ मा पुगेको छ।

बालेन मेयर भएपछि सार्वजनिक भएको यो उनको पहिलो गीत हो। गीतमा उनकै स्वर, संगीत र शब्द समावेश छन्। गीतले नेपालको वर्तमान अवस्था, समाज र विकासको विषय उठाएको छ।

गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ।

‘लाज शरणम्’ चलचित्र हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको हो। चलचित्रको मुख्य भूमिकामा सिताराम कट्टेल ‘धुर्मुस’ रहेका छन् भने निर्देशन कुमार कट्टेलले गरेका हुन्।

यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

चलचित्र निर्माण टिमले बालेनको लोकप्रियतासँगै ‘लाज शरणम्’ गीत र चलचित्रलाई दर्शकले रुचाउने विश्वास लिएको छ। महाशिवरात्रिको दिन फागुन १४ गते प्रदर्शन हुने यो चलचित्र यस वर्षकै प्रतिक्षितमध्ये एक मानिएको छ।


ताजा खबर

No comments to show.