काठमाडौं । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कल्ली’ को सेटबाट यसका प्रमुख कलाकार मध्य एक रहेका अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक गरिएको छ ।
केही दिनअघि काठमाडौंको छायांकन सकेर कर्णाली प्रदेशको उच्च हिमाली क्षेत्रमा छायांकन गरिरहेको सिनेमाको निर्माणपक्षले अभिनेता थापाको लुक्स सार्वजनिक गरेको हो ।
विगत केही सातादेखि जुम्ला जिल्लामा छायांकन भइरहेको चलचित्रमा थापाको लुक्स हेर्दा प्रभावशाली चरित्रमा रहेको अनुमान लगाउन सकिन्छ ।
सार्वजनिक गरिएको एक तस्वीरमा उनलाई शिरमा सेतो पगरी बेरेर घरबाहिर आराम गरिरहेको देख्न सकिन्छ । र, एक युवतीले उनको खुट्टा मोलिरहेकी छन् । अर्को तस्वीरमा भने उनी कालो गम्छा भिरेर देखिएका छन् । गलामा कालो रंगको माला लगाएका उनको निधारमा सेतो रंगको टीका छ ।
निर्माणपक्षले अभिनेता थापाको भूमिका कस्तो हो भन्ने नखुलाए पनि ग्रामीण भेगको सांस्कृतिक पृष्ठभूमिमा आधारित रहेका यी तस्वीर हेर्दा चलचित्रमा उनी गाउँको सम्भ्रान्त व्यक्तिको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।

यस चलचित्रमा अर्पणसहित उत्तम प्रधान, सौगात मल्ल, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य (मुन्नी), गीता अधिकारी, कुलदीप अधिकारी लगायतको अभिनय छ ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मको निर्मातामा किरण नेपाली, हिमाल कडरिया र अमलादेवी राई छन् भने सरोज नेपाली कार्यकारी निर्माता हुन् ।
महेश दवाडीको लेखन रहेको चलचित्रमा निसाल पौडेलको छायांकन छ ।
निर्माणपक्षका अनुसार अब एक साताभित्र चलचित्रको छायांकन सकिनेछ । यद्यपि, प्रदर्शन मिति भने हालसम्म तय गरिएको छैन ।