नरेन र बेनिशाको ‘बिगुल’को शुभु मुहूर्त

काठमाडौं । नयाँ फिल्म ‘बिगुल’ को अक्षय तृतियाको शुभ अवसर पारि बुधबार कोटेश्वर महादेवस्थानमा शुभु मुहूर्त गरिएको छ । रमेश कोइरालाको निर्देशनमा बैशाख तेश्रो साताबाट छायांकन सुरु गरिने फिल्मको मुहूर्त सट फिल्मका प्रमुख कलाकारद्वय बेनिशा हमाल र नरेन खड्काले दिएका थिए ।

सामाजिक जागरण, समसामयिक राजनीति, आम नागरिकको कर्तव्य र जिम्मेवारी बोधका साथमा प्रचुर मनोरञ्जनले भरिने बताइएको फिल्मको मुहुर्त सटको क्यामेरा स्वीच अन चलचित्र विकास बोर्डका पूर्व सदस्य राजेन्द्र केसीले गरेका थिए भने निर्देशक प्रदिप श्रेष्ठले क्ल्याप हानेका थिए । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको मुहूर्तमा निर्देशक सुचित्रा श्रेष्ठले नरिवल फोडेकी थिइन् ।

अभिनेता नरेनले समाज जागरणको बिगुल स्वरुपको संवाद बोलेका थिए भने संवादसँगै अभिनेत्री बेनीशाले स्वतन्त्रता र शान्तिको प्रतिक स्वरुप एक जोडी परेवा उडाइएकी थिइन ।

दिनेश कोइरालाको कथामा मौनता श्रेष्ठको पटकथा,सम्वाद रहेको फिल्म शिब ढकालले खिच्ने छन् । कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा महेश कोइराला र सूर्यकान्त कोइराला छन् । म्याग्नोलिया ग्रुपको ब्यानरमा रहेको फिल्ममा बेनिशा र नरेनका साथमा नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी, हेमन्त बुढाथोकी, जेएन घिमिरे, सुमोद भारद्वाज, विनयराज पौडेल, सुपा खनाल, बबि भारती, तुलसी लम्साल, जयन्त रेग्मी, विकास अधिकारीका साथमा बालकलाकार श्रेयान्सी थपलियाले अभिनय गर्दैछन् ।

चितवनबाट सुटिङ सुरु गरिने फिल्मका गीतमा नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहने फिल्मको निर्माण व्यवस्थापकमा श्याम केसी छन् । मुहूर्तमा नेपाल जेसिसका पूर्व अध्यक्ष फूलकुमार लालवानी, त्रिभुवन विश्वविद्यालयका पूर्व सहायक डिन बिष्णुहरि कोइराला, नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मीविलास कोइराला, चितवन काठमाडौं सम्पर्क समाजका अध्यक्ष ऋषिश्वर थपलिया, निर्देशक ऋषि लामिछानेलगायतका व्यक्ति उपस्थित थिए ।


ताजा खबर