काठमाडौं । फिल्म ‘महाराजधिराज’मा नायक रमेश उप्रेती अनुबन्ध भएका छन् । रमेश मुख्यमध्ये एक भूमिकामा अनुबन्ध भएका हुन् ।
रमेश लामो समयपछि फिल्ममा फर्किन लागेका हुन् । उनी आफैले निर्माण गरेको फिल्म ‘ऐश्वर्य’पछि कुनै पनि फिल्ममा देखिएका थिएनन् । यसबीचमा केही फिल्ममा अनुबन्ध भए पनि रिलिज भएका छैनन् । केही गीतका भिडियोमा भने रमेश देखिएका छन् ।
‘महाराजधिराज’का निर्देशक परिच्छेद सेन हुन् । फिल्म ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ । फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्ममा अभिनेता पल शाहले मुख्य भूमिका निर्वाह गर्दैछन् ।
फिल्ममा निर्देशक सेनकै लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो । फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।