फिल्म ‘जार’ की अभिनेत्री गीताञ्जली को हुन् ?

काठमाडौं । नेपाली फिल्म ‘जार’ यही वैशाख २६ गते रिलिज हुँदैछ । सामाजिक विषयवस्तुमा आधारित रहेर बनेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।

फिल्ममार्फत अभिनेत्री गिताञ्जली देखिँदा उनी नेपाली दर्शकका लागि नयाँ अनुहार हुनेछिन् । गीताञ्जली थापा नेपाली फिल्मका लागि नौलो नाम भए पनि उनी उम्दा कलाकार हुन् । उनी यही फिल्ममार्फत नेपाली दर्शकमाझ चिनिन चाहन्छिन् । त्यसकारण उनका लागि ‘जार’ एउटा अग्नीपरीक्षा सरह हुनेछ ।

उनले बलिउडमा आफूलाई प्रमाणित गरिसकेकी छन् । गीताञ्जली ‘लायर्स डाइस’बाट भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री हुन् । उनले नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि अभिनय गरेकी छन् ।

गीताञ्जली अभिनित फिल्म टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्कलगायत विश्व चर्चित फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् । त्यसैले उनको अभिनयको कुशलताले ‘जार’लाई थप उचाइ दिएको निर्माणपक्षले बताएको छ ।

यो फिल्म सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित छ । यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ ।

फिल्ममा निर्देशक फुर्वा छिरिङ लामाको निर्देशन छ ।


ताजा खबर