काठमाडाैं । चलचित्र ‘पिताम्बर’बाट निर्देशन गरेर चर्चा कमाएकी निर्देशक कृषा चौलागाई अब तीन देशका कलाकारलाई एकैसाथ लिएर नयाँ सिनेमा निर्माणको तयारीमा जुटेकी छन् ।
हालै जापान भ्रमणमा रहेकी चौलागाईले त्यहीँ यूएनए प्रोडक्सनसँग नयाँ सिनेमाका लागि सहकार्यको सम्झौता गरेकी हुन् । नेपाल, भारत र फिलिपिन्सका कलाकारहरुले अभिनय गर्ने यो चलचित्रको निर्देशन कृषाले गर्ने पक्का भएको छ ।
चलचित्र यूएनए इन्टरटेन्मेन्टको सहायक कम्पनी यूएनए प्रोडक्सनको ब्यानरमा बन्नेछ । जापानमै रहेर नेपाली सिनेमाको वितरण गर्दै आएको कम्पनीले अब निर्माणमा पनि हात हालेको छ ।
निर्देशक कृषा चौलागाई र यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाईंबीच आधिकारिक सम्झौता भइसकेको छ । कृषाले सिनेमाका लागि राम्रै पारिश्रमिक लिएकी बताइएको छ, यद्यपि त्यसको रकम सार्वजनिक गरिएको छैन ।
चलचित्रको छायांकन भदौ महिनाबाट सुरु हुने र नेपाल, जापान तथा फिलिपिन्समा सुटिङ गरिने योजना छ । हाल स्क्रिप्ट लेखनको काम तीव्र गतिमा अघि बढिरहेको निर्देशक चौलागाईले जानकारी दिइन् ।
‘पिताम्बर’पछि नयाँ प्रोजेक्टमा लागेको भन्दै कृषाले दर्शकको विश्वासलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।