रास्वपाको हस्ताक्षर अभियानमा विपिन र रमेश सहभागी

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हस्ताक्षर अभियानमा दुई अभिनेता विपिन कार्की र रमेश उप्रेती सहभागी भएका छन् ।

‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधका विरुद्ध जनताको हस्ताक्षर अभियान’मा कार्की र उप्रेती सहभागी भएका हुन् । आइतबार यी दुई अभिनेताले रास्वपा मुख्यालय वनस्थली पुगेर हस्ताक्षर गरेका थिए ।

रास्वपाले असार ७ गतेदेखि हस्ताक्षर अभियान जारी राखेको छ । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछाने अहिले थुनामा छन् । रास्वपाले यसलाई ‘प्रतिशोध’ भनेको छ । यस विरुद्ध रास्वपाले हस्ताक्षर सङ्कलन गरेको हो । पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर लामिछानेले प्रहरी हिरासतबाटै असार ७ गते बिस पृष्ठको एक दस्ताबेज प्रस्तुत गरेका थिए । हस्ताक्षर सङ्कलनको बारेमा उनले त्यहीँ प्रस्ताव गरेका थिए । जसअनुरूप अहिले रास्वपाले हस्ताक्षर सङ्कलन गरिरहेको छ ।

यी दुई अभिनेताले हस्ताक्षर गरेपछि अहिले सामाजिक सञ्जालमा विभिन्न खालका बहस भइरहेका छन् ।

बक्स अफिसमा ‘ऊनको स्विटर’ सुपरहिट भएपछि विपिन उत्साहित छन् । विपिनले हस्ताक्षर गरेपछि कतिपयले सामाजिक सञ्जालमा अब उनको फिल्म नै नहेर्ने तर्क गरिरहेका छन् भने कतिपयले विपिनलाई धन्यवाद पनि दिइरहेका छन् ।

हस्ताक्षर गरिसकेपछि अभिनेता उप्रेतीले लामिछाने आफ्नो भरोसा रहेको बताएका छन् । ‘रविजीको साथमा म छु । रविजी एउटा आशा हो, भरोसा हो । राष्ट्रिय स्वतन्त्र पार्टी पनि हो त्यसमा, किनभने राष्ट्रिय स्वतन्त्र पार्टी भन्ने बित्तिकै रविजी आउनुहुन्छ । अहिले उहाँलाई अलि गाह्रो छ तर, रातपछि दिन पक्कै पनि हुन्छ । र, दिनपछि फेरि रात आउँछ। त्यस कारण रात पर्‍यो भनेर अत्तालिइहाल्नुपर्ने छैन । रविजीले कडा परीक्षा दिइरहनुभएको छ। सायद कडा परीक्षापछि रिजल्ट पनि राम्रै आउँछ,’ उनले भने।


ताजा खबर