काठमाडौं । कान्तिपुर थिएटरले साउन १ गतेदेखि मञ्चन गर्न लागेको नाटकमा अभिनेता जीवन लुइँटेल देखिने भएका छन् । ‘शिरिषको फूल’ मा उनी मुख्य पात्र सुयोगवीरको भूमिकामा देखिने भएका हुन् ।
लुइँटेलले अमेरिका बसाइपछि पहिलोपटक साहित्यकार पारिजातको कालजयी उपन्यासमा आधारित नाटकमार्फत अभिनयमा कमब्याक गर्न लागेका हुन् । यस नाटकको लेखन र निर्देशन कान्तिपुर फिल्म एकेडेमीकी विद्यार्थी पत्रिका घिमिरेले गरिरहेकी छन् ।
नाटक मञ्चन कै लागि लुइँटेल आगामी साता नेपाल आउन लागेको कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका सिईओ प्रकाश पुरीले बताएका छन् । ‘हामीलाई साहित्यमा पकड र अभिनयमा गहिरो अनुभूति भएको उमेर र अनुभवका आभारमा परिपक्व पात्र चाहिएको थियो, त्यसैले उहाँलाई प्रस्ताव गर्यौँ,” उनले भने ।
गत महिना कान्तिपुर थिएटरले रेखा थापाको मुख्य भूमिकामा मञ्चन गरेको नाटक ‘मीरा’ ले चर्चा कमाएको थियो । अब भने ‘शिरिषको फूल’ जीवन लुइँटेलको कमब्याकसँगै थप चासोको विषय बनेको छ । पछिल्लो समय उनी अमेरिका बसोबास गर्दै आएका छन् ।