काठमाडौं । निर्देशक नर प्रधान (मित्र) यतिबेला आफ्नो निर्देशकीय फिल्म ‘यो मन त मेरो नेपाली हो’को रिलिजका लागि नेपालमा आउँछन् । राजनीतिक कारणले भुटान छाडेर परिवारसहित नेपाल आएका उनले १७ वर्षअघि नेपाल छाडेर अमेरिका गए । नेपाल आउँदा उनी साढे १० वर्षका थिए । १६–१७ वर्ष यहीँ बसे, पढाइ, लेखाइ र हुर्काइ नेपालमै भयो । भुटानको गाउँमा हुँदा संस्कार, संस्कृति सबै नेपाली नै मानिन्थ्यो । नेपाल आएपछि त्यो झनै गहिरो बन्यो। तर अमेरिका पुगेपछि व्यस्तताले गर्दा त्यो सम्बन्धमा दूरी महसुस भयो। यही दुरीलाई मेटाउन उनले फिल्मको कथा लेखे र फिल्म बनाए ।
उनको फिल्म यही असार २७ गते प्रदर्शन हुँदैछ । फिल्मलाई नेपालको पाठ्यक्रम विकास केन्द्रसमेतले विद्यालयस्तरका बालबालिकालाई देखाउनु उपयुक्त भनेर सिफारिस नै गरिसकेको छ । निर्देशक प्रधान आफ्नो फिल्मलाई अभियानको रुपमा लिन्छन् ।
‘यो एउटा अभियान हो। नेपाल र नेपालबाट संसारका विभिन्न ठाउँमा पुगेका नेपालीहरूको आस्था र विश्वासको धरोहर हो । नेपालीहरू हिजो पनि विदेशिएका थिए, आज पनि त्यो क्रम जारी छ । अहिलेको भूमण्डलीकरणले नेपालीहरूलाई हाम्रो भाषा–संस्कृतिबाट अलिक पर राखेको छ कि, वा बिर्सन थालेका त होइनन् भन्ने प्रश्न उठ्छ । हाम्रा पूर्खाले जगेर्ना गरेर छाडेको सम्पदालाई हामीले भावी पुस्तालाई सुम्पनुपर्छ भन्ने सोचले यो फिल्म बनाइएको हो’, उनी भन्छन् ।
उनले यो फिल्म भुटानी नेपालीबारे पनि रहेको बताए । नेपालबाट बर्मा, भारत, भुटान लगायत विभिन्न ठाउँमा नेपालीहरू पुगेकाले फिल्ममा संसारभर छरिएर बसेका नेपालीलाई समेट्ने प्रयास गरेको बताए ।
आफू अमेरिका पुगेपछि विभिन्न देशका मानिसहरूसँगको भेटघाट र संगतले उनीहरूको संस्कार तथा संस्कृति नजिकबाट बुझ्न पाएको खुलाए । ‘हाम्रो संस्कार, संस्कृति, पहिचान पनि अत्यन्त समृद्ध छ । त्यसैले यो फिल्म नेपालीहरूका लागि त हो नै, यदि सकियो भने विदेशीहरूलाई पनि देखाउने सोच थियो। तर सुरुमा भने आफैंलाई माया गर्न सिकाउने उद्देश्यले बनाइएको हो’, फिल्मबारे उनी भन्छन् ।
आफूले अमेरिका चार स्थानमा फिल्म देखाउँदा त्यहाँका धेरै दर्शक, विशेषगरी हजुरबा–हजुरआमाहरूले आफ्ना नातिनातिनालाई नेपाली भाषा सिकाउन थालेको र नेपाली कक्षाहरू सञ्चालन हुन थालेको देखेको बताए ।