सौगातले सक्काए ‘भूवा’को छायाकंन

काठमाडौं । संसारकै कान्छा चलचित्र निर्देशक सौगात विष्टको लघु चलचित्र ‘भूवा’को छायाकंन सम्पन्न भएको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा संसारकै कान्छा चलचित्र निर्देशकका रूपमा नाम लेखाउन सफल विष्टले निर्देशित नयाँ लघु चलचित्रको छायाकंन कार्य हालै सम्पन्न गराएका हुन् ।

डान्स फिभरको प्रस्तुति रहेको यस लघु चलचित्रलाई सम्झना पोखरेलले निर्माण गरेकी छन् ।

‘भूवा’ शीर्षकले सांस्कृतिक र पारिवारिक सन्दर्भ समेट्ने चलचित्रका प्रमुख कलाकार गजित विष्टले बताए । विष्ट कथाको मुख्य पात्रको रूपमा चलचित्रमा प्रस्तुत छन् ।

‘भूवा’ले पारिवारिक भावना र सामाजिक चेतनालाई समेट्ने अपेक्षा गरिएको छ । अत्यन्तै कम उमेरमा निर्देशनमा पाइला टेकेका सौगातले यस लघु चलचित्रमार्फत फेरि एक पटक आफ्नो सिर्जनात्मक क्षमताको परिचय दिने विश्वास निर्माण टिमले व्यक्त गरेको छ ।

सङ्गम विष्टले लेखेको कथा र पटकथा समेटिएको यस लघु चलचित्रमा नवराज उप्रेतीको छायाङ्कन र प्रवीण भट्टको सम्पादन रहेको छ साथै बिक्रम गौतमको मेक अप रहेको यस चलचित्रको गीतमा चन्द्रमणि भट्टराईले शब्द रचना गरेका छन् भने राजेन्द्र बजगाईँले सङ्गीत भरेका छन् । 

सारीका घिमिरे र विषम आचार्यको स्वरमा तयार भएको गीतमा विषम आचार्यकै ब्याकग्राउन्ड म्युजिक सुन्न सकिनेछ ।

चलचित्र निर्माणको सल्लाहकारका रूपमा गम्भीर विष्ट र कुमार मोक्तान तामाङ रहेका छन्।


ताजा खबर